२९ भदौ, धनगढी ।
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे कार्यान्वयन भइसकेको अवस्थामा पार्टी फुटाउनुको कुनै अर्थ नभएको बताएका छन् । देश र जनताभन्दा पदलाई महत्व दिनेहरुले पार्टी फुटाएको उनको आरोप छ । धनगढीस्थित एमाले पार्टी कार्यालयमा (मंगलबार) कार्यकर्तालाई सम्बोधन गर्दै एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरे ।
उनले भने, ‘पार्टीको केन्द्रीय उपाध्यक्ष, सुदूरपश्चिमको समन्वय कमिटीको संयोजकको हैसियतले एमालेबाट उछिट्टिएर भ्रममा परेर जानुभएका व्यक्तिहरु र हाल एमालेमै रहेका कमरेडहरुलाई आह्वान गर्न चाहन्छु, विगतको कुरा बिर्सिदिनुस् अब । सबै एकताबद्ध भएर अगाडिको गन्तव्य हेर्नुस् । स्थानीय चुनाव र आम चुनाव हेरौं । स्वदेशी, विदेशी षड्यन्त्रलाई चकनाचुर पार्न एमालेमा फर्किन सकिन्छ ।’
नेता रावलले कसैले कसैलाई इञ्चार्जबाट हटाएको कुरामा सत्यता नभएको दाबी गर्दै अहिले आफू एमालेको उपाध्यक्ष र सुदूरपश्चिम संयोजकको हैसियतमा काम गरिरहेको बताए ।
एमाले सुदूरपश्चिमको इन्चार्जलाई लिएर रावल र नेता लेखराज भट्टबीच विवाद छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमको इन्चार्ज लेखराज भट्ट नै भएको बताएका थिए। विवादबीच दुवै नेता अहिले काठमाडौंबाट सुदूरपश्चिममा केन्द्रित भएका छन्।