अनधिकृत सांसदु राखेर प्रतिनिधि सभा चलाएको भन्दै एमालेद्वारा राष्ट्रिय सभामा विरोध

अनधिकृत सांसदु राखेर प्रतिनिधि सभा चलाएको भन्दै एमालेद्वारा राष्ट्रिय सभामा विरोध

३० भदौ, काठमाडौं ।

नेकपा एमालेका सांसदहरुले बुधबारको राष्ट्रिय सभा बैठकमा विरोध जनाएका छन्।

बैठक सुरु हुनासाथ एमालेका सांसद्हरु उभिएपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बोल्न समय दिएका थिए।एमालेको तर्फबाट बोलेकी भगवती न्यौपानेले सभामुखको राजीनामा मागेकी थिइन्।

सभामुख अग्निप्रसाद सापकोटाको आलोचना गर्दै उनले भनिन्, ’उहाँले निष्पक्ष व्यवहार गर्न सक्नुहुन्न र संसदीय मर्यादा अनुसार चल्न सक्नुहुन्न भने उहाँ सभामुखको हैसियतमा रहन सक्नुहुन्न। उहाँले राजीनामा दिनुपर्छ। उहाँ सभामुखको कुर्सीमा बस्न योग्य हुनुहुन्न। जवाफ नआउञ्जेलसम्म यो सदन चल्न दिनुहुन्न।’

अध्यारो कोठामा बसेर एमालेमाथि षडयन्त्र गरेको र सभामुख मतियार बनेको उनको आरोप छ। ’लोकतन्त्र खतरामा परेको छ। संसदीय व्यवस्था नै खतरामा परेको छ। त्यसैले हामीले विरोध जनाइरहेका छौं। सभामुखले चित्तबुझ्दो जवाफ दिनुपर्छ भनेर माग गरिरहेका छौं,’ उनले भनिन्।

सभामुखले आफ्नो पदीय मर्यादा र संवैधानिक व्यवस्थालाई भुलेको न्यौपानेको आरोप थियो। उनले पक्षपातपूर्ण व्यवहार गरेको भन्दै उनले खेद र आपत्ति प्रकट गरिन्।

’त्यसकारणले हामीले यो सदनलाई चल्न दिएका छैनौं। हामी भन्छौं, अनधिकृत सांसद राखेर उहाँले प्रतिनिधि सभाको बैठक सञ्चालन गर्न खोज्ने दुष्प्रयत्न गर्नुभएको छ,’ उनले भनिन्।

अध्यक्ष तिमिल्सिनाको अनुरोधपछि एमाले सांसद्हरु यथास्थानमा बसेका थिए। त्यसपछि शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित गरिएको थियो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.