३० भदौ, बुटवल ।
नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टी विभाजनका कारण एमाले घाइते भएको बताएका छन् । रुपन्देहीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भुसालले पार्टी विभाजन भएर पछारिएर घाइते भए पनि एमाले अहिले पनि सबैभन्दा ठूलो राष्ट्रिय शक्ति भएको बताए ।
भुसालले भने, ‘हामी पछारिएका छौं, घाइते भएका छौ । आन्दोलनका हिसाबले अप्ठेरोमा छौं, तल खसेका छौं तर अहिले पनि ठूलो शक्ति छौं ।’
एमालेले सोचेर नमात्तिएर अघि बढ्नु पर्ने भुसालले बताए। ‘हामी ठूलो शक्ति हौं भनेर कुनै हिसाबले मात्तिने छुट छैन। हामी मात्तिनु हुँदैन’, भुसालले भने।
२०७४ सालको चुनावमा पार्टीको वर्चस्व फेरि फर्काउने उनले दाबी गरे । चुनावमा जसरी पनि जित हासिल गर्ने उद्देश्य राख्ने परिपाटी मुख्य समस्या रहेको भन्दै भुसालले यही कारण दलाल पूँजीवाद हाबी हुँदै गएको टिप्पणी गरे । उनले पार्टीभित्र र बाहिर दलाल पूँजीवादविरुद्ध लड्नुपर्ने खाँचो रहेको बताए ।
पार्टी विभाजनका विषयमा समीक्षा हुनुपर्ने भुसालले बताए ।