मरेपछि पनि देश हाँसेको देख्ने प्रधानमन्त्रीको सपना

मरेपछि पनि देश हाँसेको देख्ने प्रधानमन्त्रीको सपना

काठमाडौँ, असार ३१

प्रधानमन्त्री केपी शर्मा ओलीले आज हिमवत् खण्ड साहित्य कला सम्मिलनको चन्द्रागिरि सिर्जना यात्रामा स्थलगत कविता रच्दै मरेपछि पनि देश र जनता हाँसेको देख्न पाउने आकांक्षा व्यक्त गरेका छन्।

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले २०५औँ भानु जयन्तीका अवसरमा आयोजना गरेको तीनदिने सम्मिलनको अन्तिम दिन दिनभरजसो चन्दागिरिमा रहनुभएका प्रधानमन्त्री ओलीले संसारमा सबै मरेर जानुपर्ने र बाँचुञ्जेल आफ्ना सन्तति हाँसेको देख्न पाउने आकांक्षा व्यक्त गरेका हुन्।

आफू साहित्य र कला सिर्जना गर्न चाहेर पनि समयले नभ्याउने भन्दै उनले आज सहभागीको आग्रहमा उक्त सात मिनेट लगाएर शीर्षकरहित नौ लाइनको कविता रचिएको बताए । प्रधानमन्त्री ओलीले आफू कवि नभएको जिकिर गरे ।

प्रधानमन्त्री ओलीको पञ्चायतकालमा लेखिएको “खर्पन” कविता केही वर्षअघि सार्वजनिक भएको थियो । उनले जेल जीवनमा धेरै कविता र गीत लेखेको भए पनि तिनको संरक्षण गर्न नसकिएको बताउँदै आएका छन्।

प्रधानमन्त्रीको कविता ः

“परिवर्तनशील दुनियाँमा सँधै बाँचेको को छ र ?
बाँचुञ्जेल हो जिन्दगी मर्नु त छँदैछ !
मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाइयोस् कमसेकम
सगरमाथा, लुम्बिनी, मेची र महाकाली
हाम्रा लहलह खेतबारी, झपक्क कान्ला र आली
सपनामा भए पनि देख्न पाउँ
चन्द्रागिरिको डाँडोमा आएर सपनामा
भावी सन्तति मुस्कुराइरहेको देख्न पाउँ
तिनको हँसिलो मुहारको तस्बीर खिच्न पाउँ
मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ ।”
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.