३१ भदाै, एजेन्सी ।
अग्रपङ्तिमा लियोनेल मेस्सी, नेयमार र केलियन एमबाप्पेलाई एकैपटक मैदानमा उतारेको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बेल्जियन क्लब ब्रुगसँग बराबरीमा राेकिएकाे छ ।
ब्रुगमा बुधबार राति भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा पीएसजी क्लब ब्रुगसँग १–१ गोलको बराबरीमा रोकिएको हो । पीएसजीका लागि एन्डर हेरेराले गाल गर्दा घरेलु टोलीका हान्स भानाकेनले बराबरी गोल फर्काएका थिए । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो ।
खेलको १५औं मिनेटमा एन्डर हेरेराको गोलबाट पीएसजीले घरेलु टोलीविरुद्ध अग्रता लिएको थियो । उनले केलियन एमबाप्पेको पासमा गोल गरेका थिए । तर त्यो अग्रता लामो समय टिकेन २७औं मिनेटमा हान्स भानाकेनले इडुआर्ड सोवोलको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
बराबरीपछि बल पोसेसनमा बलियो पकड राखेपनि पीएसजीले क्लब ब्रुगको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो ।
यसै समरमा क्याटलान क्लब बार्सिलोनाबाट पीएसजी आएपछि मेस्सी, एमबाप्पे र नेयमार एकैपटक मैदान उत्रिएको हो । तर, उनीहरुले आफ्नो जादु देखाउन सकेनन् ।