काठमाडौं: कमलादीको काठमाडौं प्लाजा पछाडि क्षेत्रबाट नारायणहिटी दरबारसम्म टुकुचा नदी गायब छ । जहाँ नदी अतिक्रमण गरी त्यसमाथि ठूलाठूला भवन, व्यापारिक प्रतिष्ठान, घर ठड्याएका छन् । यस्ता सयौं रोपनी सार्वजनिक सम्पत्ति हडपेर व्यक्तिले आफ्नो नाममा पारेका छन् ।
काठमाडौं महानगरपालिका–१ का वडाध्यक्ष भरतलाल श्रेष्ठ हात्तीसार क्षेत्रमा मात्रै ५० भन्दा बढी ठूला घर टुकुचामाथि बनिसकेको बताउँछन् । लक्ष्मी बैंक, जयनेपाल हल, सिद्धार्थ बैंक, सन नेपाल लाइफ इन्स्योरेन्सलगायत दर्जनौं व्यापारिक प्रतिष्ठानका भवन टुकुचामाथि ठडिएका छन् ।
हात्तीसारमा भेटिएका चित्रबहादुर श्रेष्ठले टुचुका ‘अन्डरग्रान्ड’ बगिरहेको सुनाए । ‘हात्तीसार क्षेत्रमा टुकुचा देखिँदैन । यहाँ मुनि–मुनि गएको छ’, श्रेष्ठले भने। ‘अरू त यहाँ केही पाउनु हुन्न । यो मंगलभन्दा तल टुकुचा लगिएको छ । माथि त केही अस्तित्वमा नै देखिँदैन’, टुकुचा कहाँ छ भन्ने प्रश्नमा उनले भने, ‘बाहिरबाट त कहाँ देखिनु रु यहाँ त घर मात्रै देख्नुहुन्छ । यहाँ टुकुचामाथिको सबै जग्गा अतिक्रमण भइरहेको छ ।’
नारायणहिटी दरबारको उत्तरतर्फ किया मोटरको सोरुमबाट टुकुचा छिरेको छ । दरबारभित्र कुलोजस्तो मात्र रहेको जनाइएको छ । त्यहाँबाट काठमाडौं प्लाजाको पछाडि आधा किलोमिटरभन्दा बढी क्षेत्रसम्म नदी गायब छ ।
नारायणहिटी अगाडि भेटिएका उत्तम पौडेलले यो क्षेत्रमा आफूले खोला नदेखेको बताए । ‘मैले त यता टुकुचा देखेको छैन’, पौडेलले भने, ‘नारायणहिटीको उत्तर ढोकानजिक कियाको सोरुमबाट पसेको र काठमाडौं प्लाजाको पछाडि निस्किएको चाहिँ देखेको छु । बीचमा कहीं पनि देखेको छैन । भूमिगत रूपमा लगिएको छ रे भन्ने सुनेको छु । लक्ष्मी बैंक तल त छ रे ।’,याे समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छापिएकाे छ ।