१ असाेज, काठमाडौँ।
सरकारले कर्मचारीलाई दुई दिनमै दुई ठाउँ सरुवा गरेकाे छ । गत मंगलबार गृहमन्त्रालय ल्याइएका सहसचिवलाई भोलिपल्टै प्रमुख जिल्ला अधिकारी बनाएर सरुवा गरिएको हाे । सरुवाकाे धुनमा गृहको अनुभव नै नभएकालाई समेत सिडिओ बनाएर पठाइएको छ ।
मंगलबार मात्रै सरकारले ८५ जना सहसचिवको सरुवा गरेका थियो । त्यसको भोलिपल्टै सरकारले १६ जना प्रमुख जिल्ला अधिकारीको हेरफेर र सरुवा गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट सरुवा भएका ऋषिराज तिवारी र दीपककुमार पहाडीलाई प्रजिअ बनाएर पठाइएको छ । गृहसचिव टेकनारायण पाण्डे पनि भूमि व्यवस्था मन्त्रालयबाटै गृहमा सरुवा भएका थिए । उनले भूमि व्यवस्था रहँदाका विश्वासपात्र तिवारी र पहाडी गृहमा लगेर सिडिओ बनाएका हुन्।
तिवारीलाई गृहमन्त्री बालकृष्ण खाणको गृहजिल्ला रुपन्देहीको सिडिओ बनाएर पठाइएको छ भने पहाडीलाई रामेछापको प्रजिअ बनाइएकाे छ । त्यस्तै मंगलबार नै गृहमा सरुवा भई आएका सहसचिव वीरेन्द्रकुमार यादव, काशीराज दाहाल, पुन्यप्रसाद पौडेल, शंकरहरि आचार्यलाई पनि एक दिनपछि बुधबार नै सिडिओ बनाइयो ।
दाहाल प्रदेश २ को आर्थिक मामिला तथा योजना मन्त्रालय, पौडेल कर्णाली प्रदेश र यादव प्रदेश २ को आन्तरिक मामिला तथा कानून मन्त्रालय तथा आचार्य प्रदेश लोकसेवा आयोग लुम्बिनी प्रदेशमा थिए ।
दाहाललाई मोरङ, पौडेललाई गुल्मी र यादवलाई उदयपुर र शंकरहरि आचार्यलाई गोरखाको सिडिओ बनाएर खटाइएको छ । लोकसेवा आयोगबाट गृहमा सरुवा भएका कृष्णप्रसाद लम्साललाई पनि धादिङको प्रजिअ बनाइएकाे छ ।
यस्तै मोरङका कोशहरी निरौला, संखुवासभाका टेकनारायण पौडेल, दोलखाका बासुदेव घिमिरे, ललितपुरका ढुण्डीराज निरौलालाई गृहमन्त्रालयमा तानिएको छ । सरकारले पूर्णता नपाउँदै कर्मचारीहरुको भने व्यापक रुपमा सरुवा भइरहेको छ ।
हरेक दिन जस्तै कर्मचारीको सरुवा, हेरफेर हुन थालेको गृहका उच्च कर्मचारीहरु बताउँछन् ।