२ असाेज, काठमाडौं।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनका केही दलको आन्तरिक ब्यवस्थापनमा अलमल हुँदा मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको बताएका छन् ।
शनिबार गणेशमान सिंहका २५ औं स्मृति दिवसको अवसरमा गणेशमान सिंह फाउन्डेसनले शोभाभगवतिमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले गठबन्धनमा भएका दलहरुबीच सहमति नुहँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताए।
उनले अब चाँडै सरकारले पूर्णता पाउने विश्वास व्यक्त गरे। नेता सिंहले कम्युनिस्टहरुको दुई तिहाइको सरकारले जनभावनामा अनुरुप काम गर्न नसक्दा गठबन्धनको सरकार बनेको बताए।
कम्युनिस्टहरु असफल भएका कारण कांग्रेसको नेतृत्वमा सरकार बनेको र सरकारले जनभावना अनुसार काम गर्नुपनर्ने उनले बताए।नेता सिंहले पार्टीको १४ औं महाधिवेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने बताए । उनले पार्टीभित्र विवाद र अलोकतान्त्रिक गतिविधि बढिरहेको भन्दै विवाद भएका जिल्लामा विधिविधान अनुसार समाधान गर्नुपर्ने बताए । ‘पार्टी भित्र विवाद र अलोकतान्त्रिक गतिविधि बढिरहेको छ,’ उनले थपे, ‘महाधिवेशन निष्पक्ष तवर गर्नु पर्दछ । विवाद भएका जिल्लामा विधिविधान अनुसार समाधन गर्न सभापति लगायत सम्पूर्ण नेताहरु लाग्नु पर्दछ ।’
नेता सिंहले आफूहरुको समूहबाट साझा उम्मेदवारको सम्भावना अझै नसकिएको भन्दै त्यसका लागि निरन्तर छलफल भइरहेको बताए। तर, आफू सभापतिको उम्मेदवारबाट पछि नहट्ने उनको भनाइ थियो।उनले सर्वोच्च नेता गणेशमान सिंहले नेपालको राजनीतिमा पुर्याएको योगदानको स्मरण गरे । जस्तोसुकै अप्ठयारो परिस्थितीमा पनि गणेशमान सिंहले नेपाली जनताको सेवा गर्न नछोडेको उनले बताए ।