२ असोज, जनकपुरधाम ।
पछिल्ला तीन वर्ष लगातार संविधान दिवस नमनाएकाे प्रदेश २ सरकारले यस वर्ष पनि संविधान दिवस नमनाउने भएको छ ।
दुई वर्ष तत्कालीन मधेशी जनअधिकार फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) को संयुक्त सरकार थियो भने गत वर्ष यी दुवै पार्टी एकीकरण गरेर जसपा बनाएका थिए ।
जसपा फुटेपछि यस पटक सरकारमा तत्कालीन राजपाका नेताहरु छैनन् । र, संविधानलाई मान्दै आएको कांग्रेस र माओवादीलाई सरकारमा समावेश गराइएको छ । तर याे वर्ष पनि संविधान दिवस नमनाउने भएको हाे ।
मुख्यमन्त्री लालबाबु राउतले संविधान दिवस यसपटक पनि नमनाउने बताउँदै भने, ‘संविधान दिवस मनाउने समय अहिले भएको छैन् । यहीं संविधानभित्र हामी छौं र सरकारको नेतृत्व पनि गरिरहेका छौं । तथापि संविधान सेलिब्रेट गर्ने अहिले समय आएको छैन् ।’
संविधान दिवस पनि नमनाउने र विरोध पनि नगरी मौन भएर बस्ने उनले बताए । उनले संविधानमा अहिले पनि संघीयता, गणतन्त्र, समानुपातिक समावेशिता, केहि मौलिक हकअधिकार हुँदा हुँदै पनि संविधानमा रहेका त्रुटिहरु नसच्चिएसम्म संविधान दिवस नमनाउने बताए ।
प्रत्येक वर्षझैं प्रदेशका कर्मचारीले भने यसपटक पनि संविधान दिवसको अवसरमा केही कार्यक्रम गर्ने भएका छन् । मुख्य सचिव हरिप्रसाद मैनालीका अनुसार संविधान दिवसका दिन आइतबार बिहान जानकी मन्दिर सरसफाइ गर्ने कार्यक्रम छ ।
संविधान दिवसको अवसर पारेर तीन दिनसम्म सरकारी कार्यालयहरुमा दीपावली मनाउने कार्यक्रमसमेत तय गरिएको मुख्य सचिव मैनालीले बताए ।