एसियन कप छनोट : नेपाल र फिलिपिन्स भिड्दै

एसियन कप छनोट : नेपाल र फिलिपिन्स भिड्दै

२ असाेज, काठमाडौं ।

एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज फिलिपिन्सको सामना गर्दैछ ।

खेल उज्वेकिस्तानस्थित (जेएआर एसओके) माजमुएसी स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३:४५ बजे हुनेछ । नेपाल र फिलिपिन्स दोस्रोपटक खेल्न लागेको हो । सन् १९९९ पछि पहिलोपटक खेल्न लागेको हो । त्यतिबेला एएफसी महिला च्याम्पियनसिपमा खेल्दा ५–० को हार बेहोरेको थियो ।

फिलिपिन्सलाई हराउन नसकेको नेपाल जितको लक्ष्यसहित मैदान उत्रनेछ । टोलीसँग कप्तान रेनुका नगरकोटे, सरु लिम्बु, गीता राना, हिरा कुमारी भुजेल, पुजा राना, अमृता जैशी, मन्जली कुमारी योन्जन, प्रीति राई, विमला चौधरी, सविता रानामगर, रश्मी कुमारी घिसिङ, अनिता बस्नेत, अनिता केसी र गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाको साथ रहेको छ ।

यस्तै सिर्जना सिंह ठकुरी, रजनी थोकर, अन्जना रानामगर, दीपा राई र इन्दिरा राई पनि टोलीमा रहेका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक ग्यारी फिलिप्सले नेपाली राष्ट्रिय फुटबल टोलीका लागि एसियन च्याम्पियनसिपको छनोट अवसर रहेको बताएका छन् ।

यता, बलियो फिलिपिन्स पनि नेपाललाई हराउने लक्ष्यमा मैदान उत्रनेछन् । फिलिपिन्सका प्रशिक्षक मार्लोन मारोले टोलीमा उत्कृष्ट खेलाडी समावेश नभएपनि राम्रो प्रदर्शन गर्ने लक्ष्य रहेको बताए ।

छनोटको तयारीका लागि नेपाली टोलीले घरेलु मैदान दशरथ रंगशालामा बंगलादेशसँग दुई मैत्रीपुर्ण खेल खेलेको थियो । पहिलो मैत्रीपुर्ण खेलमा नेपालले सविता रानामगर र प्रीति राईले डेब्यु खेलमै गोल गरेपछि नेपालले २–१ को जित निकालेको थियो । दोस्रो मैत्रीपुर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।

बंगलादेशसँगको दुई खेलबाट ५ खेलाडीले सिनियर टोलीमा डेब्यु गरेका थिए । प्रशिक्षक ग्यारीले सविता रानामगर, प्रीति राई, रश्मी कुमारी घिसिङ, सिर्जना सिंह ठकुरी र रजनी थोकरलाई डेब्यु दिएका थिए । रजनीले दोस्रो खेलको अन्त्यतिर डेब्यु पाएकी थिइन् । अब टोलीमा रहेका डिफेन्डरद्वय विमला विक र निशा थोकरले डेब्यु गर्न बाँकी छ ।

समूह ‘एफ’ मा नेपालले ५ असोजमा हङकङसँग खेल्नेछ । यस समूहको फिलिपिन्स र हङकङबीचको ८ असोजमा हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.