२ असाेज, काठमाडौं ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निजामती कर्मचारी संगठनका कर्मचारीहरुलाई कसैले घुस दियो भने खान्न भन्नुपर्ने सुझाव दिएका छन् । बबरमहलमा नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक र राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै निजामती कर्मचारी सेवामुखी भएको र कसैले घुस दिएमा खान्न भन्नुपर्ने उनले बताए ।
उनले भने, ‘कसैले घुस खुवाउन दियो भने खान्न भन्नुस् । सरकारको तलब खाएको छु, भ्रष्टाचार गर्दिन भन्नुस् ।’ उनले सरकारमा जो सुकै भएपनि देश र जनताको सेवा गर्ने कामबाट पछि नहट्न निर्देशन दिएका छन्। ‘म प्रधानमन्त्री हुँदा एउटा ठूलो दलको नेताले कर्मचारीलाई राखेर सरकारलाई असहयोग गर्नुस् भनेर निर्देशन दिएछन्,’ उनले भने, ‘ती पार्टी कसरी लोकतान्त्रिक हुन सक्छन्?’ उनले कर्मचारीलाई त्यस्तो दूषित विचारबाट दुष्प्रभावित नहुन निर्देशन दिए। सरकारलाई भ्रष्टाचार गर्न नदिन कर्मचारी चनाखो हुनुपर्ने ओलीको भनाइ छ।
अध्यक्ष ओलीले माओवादीनिकट कर्मचारी माओवादी छाडेर एमालेमा आएका संगठनका उपाध्यक्ष अम्बिका धमलासहित एक सय जना केन्द्रीय सदस्यलाई धन्यवाद दिए । माओवादीबाट एमालेमा प्रवेश गरेका निजामती कर्मचारीहरु बादल, टोपबहादुर रायमाझी, लेखराज भट्टनिकट हुन् । बादलसहित अन्य नेताहरु माओवादीबाट छुट्टिएर एमालेमा समाहित भए पनि कर्मचारी संगठन समाहित भएको थिएन ।
तर, शनिवार आयोजित निजामति कर्मचारी संगठनको भेलाबाट उनीहरुलाई समाहित गरिएको छ ।