निजामती सेवामा भ्रष्टाचार मौलायोः रामबहादुर थापा

निजामती सेवामा भ्रष्टाचार मौलायोः रामबहादुर थापा

२ असाेज, काठमाडाैँ ।

एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले निजामती सेवामा भ्रष्टाचार मौलाएको भन्दै निजामती सेवा भित्र शुद्धिकरण आवश्यक रहेको बताएका छन् । शनिबार नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भ्रष्टाचारको अन्त्य नगरी देशलाई समृद्ध बनाउन नसकिने धारणा व्यक्त गरे ।

उनले कर्मचारीहरुले आफ्नो जिम्मेवारीप्रति उदासिन हुने हो भने देशको विकास नहुने बताए । उनले भने– ‘प्रशासनबाट, निजामती कर्मचारीबाट सत्ता सञ्चालनमा भ्रष्टाचारलाई उन्मुलन गर्न जरुरी छ । भ्रष्टाचारको अन्त्य नगरीकन, त्यसलाई नियन्त्रण नगरीकन देशलाई समृद्ध बनाउन सकिदैनँ । प्रशासन भित्र ठुलो सुद्धिकरण अभियान हामीले चलाउनु जरुरी छ । विकासका फाइलहरु, योजनाका फाइलहरुलाई हाम्रा कर्मचारीहरुले समयमा फैसला नगर्ने, निर्णय नगर्ने, त्यसलाई टुंगोमा नपु¥याउने, विकास कसरी हुन सक्छ ? त्यो फाइल अगाडी बढाउन उनीहरुले त्यसबापत् कुनै सुविधाको आश गर्छन् भने यो किसिमले कसरी विकास हुन सक्छ । यो ढंगको हामी देख्छौँ प्रशासन तन्त्रमा । जनताप्रतिको उदासिनता, आफ्नो जिम्मेवारीप्रतिको उदासिनता हो । जवाफदेहिता हामीमा भएन । जनताप्रति हामी समर्पित भएनौँ । हामीले जनताको सेवकको रुपमा होइनकि जनताको मालिकको रुपमा आफुलाई ठान्यौँ भने देशले कसरी प्रगति गर्न सक्छ ?’

उनले प्रशासन सञ्चालनको कार्यशैलीमा आमुल परिवर्तन गर्नुपर्ने पनि बताए । प्रशासनलाई उच्च प्रविधिहरुसँग जोड्दै आधुनिकीकरण गर्न जरुरी रहेको उनको भनाई छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.