विराटनगर,साउन १
विराटनगर महानगरपालिकाले मंगलबारदेखि लागू हुने गरी नयाँ ट्राफिक ब्यवस्था लागू गरेको छ । मेनरोडमा यसअघि मोटरसाइकलमा लाग्दै आएको वान वे अब हटेको छ । जिल्ला ट्राफिक प्रहरी प्रमुख शिव पोखरेलले यसअघि बुधहाटचोकदेखि जलजलाचोकसम्म मोटरसाइकलमा लाग्दै आएको एकतर्फी सवारी सञ्चालन नियम हटाइएको बताए ।
प्रहरी निरीक्षक पोखरेलले दुईचक्के सवारीसाधनका लागि वान वे हटाइए पनि अन्य सवारीसाधनको हकमा भने पहिलाकै नियम कायम रहने बताए । मोटरसाइकलमा वान वे हटाइएसँगै सडकको दुवैतर्फ पार्किङ निषेध गरिएको छ । ट्राफिकचोकदेखि जलजलाचोकसम्म सडक छेउमा कुनै पनि सवारीसाधन पार्किङ गर्न नपाइने नियम लगाइएको छ ।
पार्किङका लागि मध्य बजारमा रहेको ए र बी प्लटका साथै नमस्कार होटल अगाडि रहेको खाली जग्गा छुट्टयाइएको उनले जानकारी दिए । यस्तै सार्वजनिक सवारी साधनका चालक , सहचालक र कन्डक्टरले अनिवार्य ड्रेस र परिचय पत्र भिर्नु पर्ने छ । सार्वजनिक सवारी साधनका चालकले जुत्ता अनिवार्य लगाउनु पर्नेछ ।
सिट क्षमता भन्दा बढी यात्रु बोक्न, तिव्र गतिमा सवारी साधन गुडाउन निषेध गरिएको छ । मुख्य बजार ट्राफिक चोकदेखि जलजला चोकसम्म पार्किङ निषेध गरिएको छ । पार्किङका लागि बजार क्षेत्रमा बुधहाट चोकको ए र बि प्लटमा साथै नमस्कार होटल पश्चिम खाली रहेको जमिनमा पार्किङ स्थल तोकिएको ब्यवस्था मिलाईएको छ । बुधहाट चोक देखि जलजला चोक हुँदै आएको एक तर्फी वान वे नियम दुई पाङ्ग्रे सवारी साधनका लागि हटेको छ ।
सार्बजनिक सवारी साधनले भाडादर देखिने स्थानमा टाँस्नु पर्नेछ । यात्रुबाहक बसलाई बातावरण मैत्री बनाउन अपांङता भएका , अशक्त , वृद्ध र महिलाहरूका लागी छुट्टाछुट्टै सिट व्यवस्थापन गरेर राख्नु पर्ने व्यवस्था गरेको छ । जथाभाबी विद्यार्थीलाई स्कुल कलेजको बसमा चाढाउन वा ओराल्न पाउने छैन, निश्चित ठाउँमा भेला भएर मात्र विद्यार्थी चढ्न पाउने छन ।