४ असाेज, काठमाडौं ।
विपक्षी दल नेकपा एमालेको नाराबाजीबीच प्रतिनिधिसभाले २०७८/०७९ को बजेट पारित गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूहरुलाई पेलेको प्रतिक्रिया दिएका छन् ।
पूर्व-प्रधानमन्त्री समेत रहेका ओलीले सोमबार संसदबाट बजेट पास भएपछि पत्रकारहरुसँग प्रतिक्रिया दिँदै आफूहरू सरकारबाट पेलिएको आशय व्यक्त गरेका हुन् ।
संसद भवनबाट बाहिरिने क्रममा पत्रकारहरुले ओलीलाई सरकारले पेलेरै विधेयक पारित गर्यो नि ? भनेर गरेको प्रश्नमा उनले भने, ‘पेलुन् न पेलुन्, कतिसम्म पेल्छन् !’
धेरै बोल्न नचाहेका अध्यक्ष ओलीले अन्य प्रतिकृया भने दिएनन् । अर्थमन्त्री जनार्दन शर्माले भदौ २५ गते चालू आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका थिए ।
बजेट पारित पारित भएसँगै सरकारलाई खर्च गर्नका लागि बाटो खुलेको छ । अध्यादेशको समय गत बुधबार सकिएपछि खर्च गर्न बन्देज लागेको थियो ।