४ असाेज, काठमाडाैँ ।
लामो समयदेखि कृषि प्रदान देश नेपालका किसानले भोग्दै आएको रासायनिक मलको अभाव अहिलेसम्म पूरा हुन सकेको छैन । न हिउँद न वर्खा आवश्यक जति मल किसानले पाएका छैनन् । हरेक सरकार परिवर्तनसँगै मल आयातलाई प्राथमिकता दिने तथा आवश्यक मल भित्राउने प्रतिवद्धता जाहेर हुदै आएका छन् । तर व्यवहारमा त्यस्तो देखिएको छैन ।
अहिले पनि सरकारले छुट्टाएको बजेटबाट माग अनुशारको आधा पनि मल आयात गर्न नसकिने कृषि अधिकारीहरुले बताईरहेको बेला सरकारले मल खरिदका लाथि थप बजेटको व्यवस्था गरेको छ । सरकारले प्रतिस्थापन बिधेयकमार्फत रासायनिक मल खरिद गर्न तीन अर्ब रुपैयाँ बजेट थप गरेको छ । अर्थमन्त्री जर्नादन शर्माले संसदमा पेश गरेको अध्यादेश बजेटको प्रतिस्थापन विधेयकमा रासायनिक मल खरिद गर्न मन्त्रालयलाई तीन अर्ब रुपैयाँ रकम थप गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । तर विडम्बना सरकार गठनको २ महिना विति सक्दा पनि कृषि मन्त्रालय मन्त्रीविहीन छ ।
यो अवस्थामा अब मल खरिदका नीतिगत प्रक्रिया कसरी अगाडि बढाउन अर्काे समस्या देखिन्छ । संशोधित बजेटमा तीन अर्ब रुपैयाँ मलका लागि थपिएको मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले जानकारी दिएका छन् । अघिल्लो सरकारले पेश गरेको बजेटमा थप हुनेगरी उक्त रकम विनियोजन भएको उनको भनाइ छ । बजेट थपसँगै अब रासायनिक मल खरिदका लागि यो वर्ष कुल विनियोजन हुने रकम १५ अर्ब रुपैयाँ पुगेको प्रवक्ता सञ्जेलले बताए ।
केपी ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा रासायनिक मल खरिदका लागि १२ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो । १२ अर्ब रुपैयाँमा अहिलेको बजार मूल्यअनुसार तीन लाख मेट्रिकटन रासायनिक मल खरिद गर्न सकिने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । बढेको रकमबाट थप एक लाख १५ हजार मेट्रिकटन भन्दा धेरै मल खरिद गर्न सकिने कृषि सामग्री कम्पनीका सूचना अधिकारी राजेन्द्र कार्कीले बताए । यस वर्ष कुल १५ अर्ब बजेटबाट सवा चार लाख मेट्रिकटन मल खरिद गरिने उनले बताए । १२ अर्ब रुपैयाँ बराबरको तीन लाख मेट्रिकटन मल खरिदका लागि प्रक्रिया अघि बढीसकेको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।