५ असोज, काठमाडौं ।
मंगलबार एक बजे बस्ने राष्ट्रियसभाको बैठकमा बजेटसम्बन्धी तीनवटै विधेयक पेश हुँदै छन् ।
प्रतिनिधिसभाबाट सोमबार बजेट पारित भइसकेको छ । राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक प्रस्तुत गर्ने सरकारको तयारी छ ।
पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्न सरकारले विधेयक अगाडि बढाएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा बजेटकै अंग बनाउँदै प्रतिस्थापन विधेयक पारित भएको थियो ।
प्रमुख प्रतिपक्षी दल एमालेले हाल नेकपा (एकीकृत समाजवादी)मा गएका आफ्ना तत्कालीन १४ सांसदलाई पदबाट बर्खास्त गर्नुपर्ने माग गर्दै संघीय संसदका दुवै सदनका बैठक अवरुद्ध गर्दै आएको छ । आजको राष्ट्रियसभा बैठक पनि एमाले अवरुद्ध बनाउने निश्चित छ ।
संसदबाट बजेट पारित हुन बाँकी रहेकाले सरकारले खर्च गर्न पाएको छैन । राष्ट्रियसभाबाट ती विधेयक पारित भएपछि पुनः प्रतिनिधिसभामा फिर्ता पठाउनुपर्नेछ । त्यसपछि मात्र सभामुख अग्निप्रसाद सापकोटाले विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउँछन् । र, बजेट कार्यान्वयनमा आउने छ ।