६ असाेज, काठमाडौं।
नेपाली कांग्रेसका नेता डा नारायण खड्का परराष्ट्रमन्त्री नियुक्त भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेकी हुन्।
मन्त्री नियुक्त भएका खड्काले बुधबार दिउँसो नै पद तथा गोपनियताको शपथ लिनेछन्। त्यसपछि उनी सिंहदरबार गएर कार्यभार सम्हाल्ने छन्।
संयुक्त राष्ट्रसंघको महासभामा नेपाली टोलीको नेतृत्व गर्दै परराष्ट्रमन्त्री जानुपर्ने भएपछि प्रधानमन्त्री देउवाले परराष्ट्रमन्त्री नियुक्त गरेका हुन्। कार्यभार सम्हाले लगत्तै खड्का आजै अमेरिका प्रस्थान गर्ने छन्। उनले महासभालाई नेपालको तर्फबाट सम्बोधन पनि गर्ने छन् ।
उनीसँगै परराष्ट्र सचिव भरतराज पाैडेल पनि अमेरिका जानेछन्। परराष्ट्र मन्त्री नहुँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय छवि बिग्रिने चिन्ता थियो । साथै संयुक्त राष्ट्रसंघको महासभामा को सहभागी हुने भन्ने पनि अन्यौल थियो ।