मेरो राजनीतिक जीवन सिध्याउन अख्तियार प्रयोग भयो : गच्छदार

मेरो राजनीतिक जीवन सिध्याउन अख्तियार प्रयोग भयो : गच्छदार

६ असाेज, काठमाडौं।

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफ्नो राजनीतिक जीवन सिध्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रयोग भएको टिप्पणी गरेका छन्। बुधबार तीनकुनेको एक होटेलमा पत्रकार सम्मेलन गर्दै नेता गच्छदारले आफूमाथि सुनियोजित रुपमा प्रहार भएको बताए।

उनले भने, ‘ललिता निवासमा मलाई राजनीतिक प्रतिशोध साँध्न मुद्दा चलाइयो। मेरो ५० वर्ष लामो राजनीतिक जीवन समाप्त गर्ने खेलमा अख्तियार प्रयोग भयो भन्नुपर्दा अतिशयोक्ति हुँदैन।’

गच्छदारले आफूलाई तत्कालीन सरकारले राजनीतिक प्रतिशोधका आधारमा फसाउने दूषित उद्धेश्य लिएकाे बताए ।  गच्छदारले भने, ‘ममाथि लगाइएका आरोपका साथ संलग्न प्रमाण कागजातहरु अध्ययन गरिएमा मेरोविरुद्ध लगाइएका आरोपहरु झूटा हुन् भन्ने प्रमाणित हुन्छ । यद्यपि ममाथि छानबिन र अध्ययनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्वतन्त्र छ । तर दूषित उद्धेश्यले मेरो खुला किताबसरह रहेको मेरो राजनीतिक जीवन ध्वस्त पार्ने प्रयास भएको छ ।’

गच्छदारले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनअनुसार विभिन्न तहबाट आएको प्रस्तावलाई मन्त्रिपरिषद्‍मा लैजानेसम्मको काममात्र आफूले गरेको बताए ।

आयोगले २०७६ माघ २२ गते ललितानिवास जग्गा किनबेच प्रकरणमा पूर्व मन्त्री गच्छदारलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। केपी शर्मा ओलीको सरकार रहँदासम्म सार्वजनिक नभएका उनी नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि गत असार ३० गते विशेष अदालतमा हाजिर भएका थिए। अदालतले उनलाई धरौटीमा रिहा गरेको थियो।

उनले आफू धरौटीमा रिहा भएर न्याय पाएको बताएका छन्। उनले थपे, ‘म विगत डेढ वर्षसम्म एक दिनपछि सार्वजनिक काम र मिडियामा आइनँ। अदालतले धरौटीमा रिहा गरेर न्याय दिएपछि मात्रै सावर्जजनिक भएँ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.