मेराे कार्यकालमा चीन र भारतसँग सन्तुलित सम्बन्ध हुन्छ : नवनियुक्त परराष्ट्रमन्त्री

मेराे कार्यकालमा चीन र भारतसँग सन्तुलित सम्बन्ध हुन्छ : नवनियुक्त परराष्ट्रमन्त्री

६ असाेज, काठमाडौँ ।

नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले आफ्नो कार्यकालमा चीन र भारतसँग सन्तुलित सम्बन्ध हुने बताएका छन् । बुधबार दिउँसो सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले आफ्नो कार्यकालमा चीन र भारतबीचको सम्बन्ध अत्यन्त समधुर र घनिष्ठ हुने बताएका हुन् ।

यस्तै मन्त्री खड्काले परराष्ट्र नीति दल विशेषको नभएर सबैसँगको सहमतिमा अघि बढ्ने बताए ।  मन्त्री खड्काले भने, ‘यो राष्ट्रिय हितको विषय भएकाले सबै दलको सहमति समेतलाई ध्यान दिएर, सबै नेताहरुसँग परामर्श र सहमति गरेर हाम्रा अहिलेका जल्दाबल्दा विषयहरु र भावी दिनमा आउन सक्ने विषयहरुलाई सम्बोधन गर्ने गरी काम गर्छु ।’

मन्त्री खड्काले एमसीसी र बीआरआईलगायतका विषयमा भने थप अध्ययन गरेर तथ्यगत र मिथ्यागत विषयहरुलाई समेत ध्यानमा राखेर नेपालको हितमा हुने गरी सबै राष्ट्रहरुसँग घनिष्ठ र सन्तुलित सम्बन्ध कायम गर्ने गरी अघि बढ्ने बताए । गतिशील, आधुनिक र प्रविधियुक्त मन्त्रालय बनाउने आफ्नो प्राथमिकता भएको उनले बताए ।

खड्का आजै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गर्दैछन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने प्रतिनिधिमण्डलको नेतृत्व गर्दै खड्का आज बेलुकी साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट न्यूयोर्क जान लागेका हुन् ।

उदयपूर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य खड्का यसअघि सुशील कोइराला नेतृत्वको सरकारमा सहरी विकास मन्त्री थिए । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकार रहेका खड्का योजना आयोगको पूर्व उपाध्यक्षसमेत हुन् । हाल उनी कांग्रेसको विदेश विभाग प्रमुखसमेत रहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.