६ असाेज, बर्दिया ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच सिट नजित्ने माओवादीसँग गठबन्धन गरेर ३६ सिट जिताउनु नै आफ्नो गल्ती भएको बताएका छन् । एमाले जिल्ला कमिटी बर्दियाद्वारा गुलरियामा आयोजित अगुवा कार्यकर्ता भेलालाई बुधबार सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्डले सर्पलेझैं दुध दिने हातलाई डसेको आरोप लगाए ।
उनले भने, ‘जुन हातले दुध दिर्यौं, प्रचण्डले त्यहीं हात टोके ।’ ओलीले माधवकुमार नेपालको साथमा दुई चारजना कार्यकर्ता मात्रै भएको दाबी गरे । अर्को पार्टीले निस्काशन गरेका व्यक्तिहरुको सनाखत लिएर नयाँ दल दर्ता गर्नु ज्यादती भएको ओलीले बताए । यस कार्यविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको बताउँदै ओलीले भने, ‘अदालतले फैसला गर्यो भने त यिनीहरुको पार्टीले मान्यता पाउनै सक्दैन ।’
ओलीले आफ्नो सरकारले गरेको काम देख्न नसकेर प्रतिगामी तत्वहरुले अदालतको साहारामा सरकार ढालेको बताए । अध्यक्ष ओलीले ‘देशको विकासका लागि पैसा नै नभएको बताउने कस्तो दरिद्रहरुको सरकार हो ?’ भनेर प्रश्न गरे ।