६ असाेज, काठमाडौँ ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नेपालसँग सधैं मिलेर काम गर्न चाहेको बताएका छन् ।
बुधबार पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीसँग इस्लामाबादस्थित प्रधानमन्त्री कार्यालयमा भएको शिष्टाचार भेटमा प्रधानमन्त्री खानले नेपालसँगको सम्बन्धलाई अझ सुदृढ गर्न चाहेको उल्लेख गरे । प्रधानमन्त्री खानले दुई पक्षीय सम्बन्धलाई थप प्रवर्द्धन गर्न मिलेर काम गर्ने बताए ।
राजदूत अधिकारीमार्फत खानले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली जनतालाई बधाई तथा शुभकामना दिएका थिए ।
उक्त भेटमा नेपालको अहिलेको अवस्थाको बारेमा जानकारी दिँदै कोभिड–१९ का दौरान पाकिस्तानी सरकारले नेपाल सरकारलाई गरेको सहयोगको लागि धन्यवाद दिएकाे राजदूत अधिकारीले बताए।