८ असाेज, जाजरकोट ।
लगातारको वर्षा तथा हावाहुरीको कारण जाजरकोटको नलगाड नगरपालिका र बारेकोट गाउँपालिका क्षेत्रमा लगाएको मकै बाली सखाप भएको छ ।
पाक्न थालेको र घोगा लागेको मकै बालीमा पानीसँगै आएको हावाहुरीका कारण क्षती पुगेको छ । हावाहुरीकै कारण झन्डै एक हजार घरपरिवारको सयौँ हेक्टर जमिनमा लगाएको मकै बाली नष्ट भएको छ ।
तीन दिन अघि चलेको हावाहुरीले लगाएको मकै बालीमा क्षति गरेको किसानले बताएका छन् । बारेकोट-४ जिरीका भीमबहादुर सिंहले भने, ‘सबै मकै नष्ट भयो, के खाने कहाँ जाने भन्ने चिन्ताले सताएको छ’, सिंहले भन्नु भयो । नलगाड ४ को मानचौर, कोठीगाउँ, चच्चुलाइना, पाटा, सार्कीवारा, माझगाउँ, ओवाचौर, भेरीखर्क, मायाडाडा, भाच्चीउरा, फुलचाउली, प्यारघारा, सिमा, औल, दारफाका, बाउेखोला, ६ को थाप्ला, गराग्ली, भारगाउँ, गर्छिना, ५ को लविसा, ऐराडी, मुली, पारीगाउँ, पोख्रा, खनटाकुरा लगाएत वडामा लगाएको मकै बाली हावाहुरीले ढालेर सखाप परेको स्थानीयले बताएका छन् । ‘भखरै पोली खानेसम्म नभएको मकै हावाहुरीले ढालेर सोतर पारेको छ ।’
जाजरकोट जिल्लाको मुख्य अन्नबालीको रुपमा रहेको मकै हावाहुरीले सखाप पारेपछि स्थानीयहरू चिन्तित छन् । राहातको लागि पहल गर्न स्थानीयले स्थानीय सरकारलाई अनुरोध गरेका छन् ।