९ असोज, झापा।
झापाको दमकस्थित एड्भान्स अस्पतालमा तोडफोड भएको छ । चिकित्सकको लापरवाहीले ११ महिने शिशुको मृत्यु भएको भन्दै पीडित परिवार तथा आफन्तले शनिबार अस्पतालमा तोडफोड गरेका हुन् ।
तोडफोडबाट अस्पतालको संरचनामा क्षति पुगेको छ । तोडफोडमा संलग्न एक दर्जन बढीलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । झापा कमल गाउँपालिका–१ का ११ महिने बालक सिर्जन खड्काको शुक्रबार अस्पतालमा मृत्यु भएको थियो ।
परिवारका सदस्यकाअनुसार विरामी बालक कोरोना संक्रमित थिए । निमोनिया पनि थियो । एडभान्स अस्पतालमा डा. अनिल थापाले विरामी हेरे । कोभिड संक्रमित भएकाले भर्ना गरेर राख्न मानेनन् । अरु बालबालिकामा सर्ने भएकाले घरमै लैजान सुझाए ।
अन्य अस्पतालमा रिफर पनि गरिएन । तर डाक्टर थापाले बालकलाई आधा घण्टाको फरकमा दुईटा सुई स्थानीय स्वास्थ्यकर्मीबाट लगाउन सिफारिस गरे । तर स्थानीय स्वास्थ्यकर्मीले तीन मिनेटको फरकमै लगाइदिएको पीडित परिवारले बताएको छ । ‘तीन मिनेटमै दुईटा सुई लगाएपछि बालकलाई गाह्रो भयो । हामी बाबु बोकेर फेरि अस्पताल गयौं । अस्पताल आएको केही समयमा बाबुको मृत्यु भयो । डाक्टरले लापरवाही गर्यो । हिजै हाम्रो बच्चा राखिदिएको भए मर्दैनथ्यो,’ मृतकका आफन्त सरोज खड्काले भने ।
चिकित्सकको लापरवाहीले बच्चा मरेको भनेर पीडित परिवारले शव पनि उठाउन मानेका छैनन् । हिजोदेखि शव अस्पतालमै छ । खड्काका अनुसार विहान अस्पताल प्रशासनले उनीहरुसँग छलफल गरेपनि आफूहरुको कुरा नसुनेको र स्वास्थ्यकर्मीको मात्रै सुनेको खड्काको गुनासो छ ।