११ असोज, काठमाडौं ।
विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज अवतरण हुन नसकी २ घण्टापछि काठमाडौंमै अवतरण भएकाे घटनामा बुद्ध एयरले आफ्नो स्पष्टीकरण सार्वजनिक गरेको छ । बुद्ध एयरले ल्याण्डिङ गियर देखाउने इण्डिकेटरले काम गर्न नसक्दा समस्या अवतरणमा समस्या भएकाे बताएकाे छ ।
कम्पनीका अनुसार जहाज विराटनगर अवतरण गर्ने क्रममा ल्याण्डिङ गियर इण्डिकेटरमा समस्या देखिएको थियो । त्यहाँको टावरले समेत गियर नझरेको जानकारी गरायो । त्यसपछि जहाज काठमाडौं फर्काउने निर्णय पाइलटले लिए । सुरक्षा निर्देशिका अनुसार जहाजमा रहेको इन्धनलाई कम गर्न केही बेर काठमाडौंका आकाशमा फन्को मारेको थियो । त्यसबेला सबै सुरक्षा मापदण्ड पूरा गरी जहाज सुरक्षित अवतरण गरेको कम्पनीले जनाएको छ ।
जहाजमा ल्याण्डिङ गेयरका लागि दुई वटा इन्डिकेटर हुने र प्राइमरी इण्डिकेटरमा संकेत नदेखिए पनि सेकेन्डरी इण्डिकेटरमा सबै ठिकठाक रहेको बुद्ध एयरले जनाएकाे छ। यसरी सेकेण्डरी इन्डिकेटरमा बत्ती बलेको अवस्थामा पनि ल्याण्डिङ गियर खुलेको मानिन्छ ।
सुरक्षामा शून्य सहनसिलता अनुसार क्याप्टेनले जहाज तुरुन्तै काठमाडौं फर्काउने निर्णय लिएको कम्पनीले जनाएको छ ।काठमाडौं आइसकेपछि क्याप्टेनले बुद्ध एयरको टेक्निकल टिमको रेडियो सम्पर्कमा ल्याण्डिङ गियर चेकजाँच गर्दा सही र झरेको जानकारी दिइएको थियो । सोही अनुसार जहाज सुरक्षित अवतरण गराइएको छ ।
जहाजमा कुल ७३ जना यात्रु थिए ।यस क्रममा यात्रुमा परेको असुविधाप्रति कम्पनीले क्षमा मागेको छ । सुरक्षित हवाई यात्राको प्रतिवद्धता समेत कम्पनीले गरेको छ ।
