११ असोज, काठमाडौँ ।
नेपाल स्काउटका निःवर्तमान संयोजक लोकबहादुर भण्डारीले अहिलेको सरकार असक्षम र अदूरदर्शी रहेको दाबी गरेका छन् । सोमवार काठमाडौंमा आयोजित नेपाल स्काउट विशेष पत्रकार सम्मेलनमा निःवर्तमान संयोजक भण्डारीले संस्थामा आफूले पूरा जिम्मेवारी निभाएको तर स्काउटको ऐन, कानून बनाउने कुरामा सरकार असक्षम र अदूरदर्शी रहेको दाबी गरेका हुन् ।
उनले केही मिलेमतोमा चल्ने र स्काउटलाई अघि बढ्नै नसक्नेहरुले आफूलाई निकाल्नकै लागि निकालेको बताए । उनले सरकारको यो निर्णय स्काउटलाई अघि बढ्नै नदिने झुन्डहरुलाई खुशी बनाउनका लागि भएको समेत बताए । निःवर्तमान संयोजक भण्डारीले आफ्नो अबको बाटो कानूनी सल्लाह भएको बताउँदै सरकारले आफूले नेपाल स्काउटले मागेको ऐन नदिएको आरोप समेत लगाए । निःवर्तमान संयोजक भण्डारीले भने, ‘अहिले पनि सरकार असक्षम छ, किनभने सरकारले अहिले पनि ऐन दिन सकेको छैन, नेपाल स्काउटको ऐन दिन सकेको छैन, बास्तवमा हिजो इतिहास, यसको नेतृत्व गर्नेहरुले मागेको र चाहेको ऐन खोई ? मैले मागेको त्यो ऐन क्याबिनेटको विधायन समितिमा गएर अड्किएर बसेको छ, यो केही कार्यकर्तालाई देखाउने, हिजोदेखि स्काउटलाई बढ्नै नदिने केही झुन्डहरुलाई खुशी बनाउन गरिएको निर्णय हो, अहिलेसम्म यत्रो शंकट पर्दा फेसबुकमा लेखेर बस्नेहरु छन् तर बाहिर निस्केर सहयोग गरेका छैनन्, अहिले आउन खोज्ने लिडरहरु बालबालिकाकै चरित्रलाई टचर दिन खोज्ने गरिरहेका छन्, म अब कानूनि सल्लाह लिन्छु, यसमा जे ठहर्छ त्यही अनुसार अघि बढ्छु,मलाई बिस्थापित गर्यो खोई लिडरशीप ? अर्को आउनुपर्यो नि, खोई म गर्नसक्छु भनेर आउने मान्छे ? त्यसैले यो सरकार फेरि पनि असक्षम छ भनेर प्रमाणित हुन्छ, असक्षम छ, अदूरदर्शी छ,आफूले दिनुपर्ने काम दिँदैन,अनि अर्कोलाई एउटा आरोप लगाएर निकाल्नका लागि निकालिएको छ, म निकालिएको मात्रै हो, मैले जिम्मेवारी पूरा नगरेको होइन ।’
प्रधानमन्त्रीले तथ्यहीन आधारमा निर्णय लिनु दुःखद्
निःवर्तमान संयोजक भण्डारीले प्रधानान्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले जिम्मेवारी पूरा गर्न नसकेर यस्तो निर्णय लिइएको भन्नु अस्वभाविक र आश्चर्यजनक रहेको बताए । उनले प्रधानमन्त्रीको आँखामा छारो हालेर आफू नेतृत्वको समितिलाई राजनीतिक पूर्वाग्रहमा हटाउन खोजेको बताए । उनले देशको प्रधानमन्त्रीले तथ्यहीन आधारमा निर्णय लिनु दुःखद् भएको समेत बताए । संस्थामा आफूले शतप्रतिशत काम गरेको भन्दै आफू नेतृत्वको समितिले तोकेकै समयमा स्काउटको निर्वाचन गर्न आग्रह गर्दै अर्को तदर्थ समितिको श्रृंखलाबाट मुक्त गरी निर्वाचित नेतृत्व स्थापना गर्न आग्रह गरे ।
उनले भने, ‘७० वर्षको इतिहासमै सबैभन्दा बढी कार्यप्रगति र तुलनात्मक रुपमा परिणाममुखी एवं ऐतिहासिक महत्वका कार्यहरु गर्दै नेपाल स्काउटलाई एएटा नयाँ उचाइमा पुर्याउने हालको मेरो नेतृत्वको राष्ट्रिय तदर्थ समितिलाई नेपाल स्काउटका संरक्षक एवं प्रमुख स्काउट समेत रहनुभएका सम्माननीय प्रधानमन्त्रीज्यूले जिम्मेवारी पूरा गर्न नसकेकाले जिम्मेवारीबाट अलग गरिएको भन्ने निर्णय गर्नु अस्वभाविक र आश्चर्यजनक छ, म सम्माननीय प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु, तपाईको आँखामा छारो हालिएको छ, तपाईलाई मिथ्यांकको गाथा सुनाएर म र मेरो नेतृत्वमा रहेको समितिलाई केवल राजनैतिक पूर्वाग्रहमा हटाउन खोजिएको हो, तसर्थ यस गरिमामय संस्थाको संरक्षक एवं प्रधानमन्त्री भएका हिसावले यहाँले यस किसिमको तथ्यहीन आधारमा निर्णय गर्नु अत्यन्त दुःखद् कुरा हो,म फेरि पनि भन्न चाहन्छु, हामीले हाम्रो जिम्मेवारी शतप्रतिशत पूरा गरेका छौँ, हामीले नेपाल स्काउटको आवधिक निर्वाचन गर्ने सबै आधारहरु तयार पारेका छौँ, म आफैँ आग्रह गर्न चाहन्छु, हाम्रो कार्यसमितिले तोकेकै मितिमा स्काउटको निर्वाचन सम्पन्न होस् र नेपाल स्काउटलाई फेरिपनि अर्को तदर्थ समितिको श्रृंखलाबाट मुक्त गरी निर्वाचित नेतृत्व स्थापित गरौँ ।’
उनले आफूलाई सामाजिक सञ्जालमा आक्रमण भइरहेको र व्यक्तिगत जीवनको विषयवस्तुलाई जोडेर आफूमाथि प्रहार भइरहेको बताए । निःवर्तमान संयोजक भण्डारीले लामो समयदेखिनेपाल स्काउटको सम्पत्ती कब्जा गरेर भाडा समेत नतिरिरहेको खड्का ल्याण्ड डेभलपमेण्ट प्रा.लि.लाई नियमित भाडा तिराउन र गैरकानूनिरुपमा कब्जा गरेको जग्गा फिर्ता गराउन खोज्दा विभिन्न प्रलोभन देखाएको र आफू प्रलोभनमा नपरेपछि खड्का ल्याण्ड डेभलपमेण्ट प्रा.लि. र स्काउटकै केही साथीहरुले विभिन्न आरोप लगाएको समेत बताए ।