११ असाेज, काठमाडौं ।
नेकपा एमालेभित्रको १० बुँदे सहमति कार्यान्वयनका सम्बन्धमा उत्पन्न विवाद समाधानका लागि उपाध्यक्ष भीम रावलको नेतृत्वमा एक कार्यदल गठन भएको छ।
सोमबार बसेको स्थायी कमिटी बैठकले रावलको नेतृत्वमा सात सदस्यीय कार्यदल गठन गरेको स्थायी कमिटी सदस्य मणि थापाले जानकारी दिए।
१० बुँदे सहमति कार्यान्वयन गर्ने शर्तमा माधवकुमार नेपालकाे साथ छाेडेर एमालेमै रहेका नेताहरुले साे सहमति कार्यान्वयन नभएकाे भन्दै गुनासाे गर्दै आएका छन् । रावलले एमालेलाई २ जेठ २०७५ मा फर्काउने सहमतिअनुसार आफू नै सुदूरपश्चिमको इन्चार्ज हुनुपर्ने माग राखेका छन्।
तर, अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजनपछि एमालेमा रहेका लेखराज भट्ट नै इन्चार्ज कायम रहेको बताएका छन्।
त्यसअघि एमालेभित्रको विवाद समाधान गर्न नेपाल पक्षबाट रावल र ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा कार्यदल बनाइएको थियो। कार्यदलले एमालेलाई २ जेठ २०७५ को अवस्थाबाट अघि बढाउने लगायतका सहमितको प्रस्ताव तयार पारेको थियो।