सबैले न्यायपूर्ण र समान तरिकाले खोप पाउनुपर्छ : मन्त्री खड्का

सबैले न्यायपूर्ण र समान तरिकाले खोप पाउनुपर्छ : मन्त्री खड्का

१२ असोज, काठमाडौं ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काले सबैले न्यायपूर्ण र समान तरिकाले कोरोना भाइरस विरुद्धको खोप पाउनुपर्ने बताएका छन्।

आज बिहान संयुक्त राष्ट्र संघको ७६औं महासभालाई अमेरिकाको न्यूयोर्कमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री खड्काले खोपमा असमान वितरणले न्यून आय भएका मुलुकमा आर्थिक सामाजिक असर पारेको बताए। उनले भने, सबैले न्यायपूर्ण र समान तरिकाले खोप पाउनुपर्छ।

नेपाली जनतालाई कोरोना संक्रमणबाट सुरक्षित बनाउन सरकारले खोपको व्यवस्थापन र खोप लगाउने कार्यलाई उच्च प्राथमिकतामा राखेको उनको भनाइ थियो। सबै नेपालीलाई आगामी ६ महिनाभित्र खोप लगाइसक्ने लक्ष्य रहेको मन्त्री खड्काले बताए ।

नेपालले विश्वशान्ति , सहअस्तित्व र समानतामा आधारित सम्बन्ध तथा भाईचाराको नीति अवलम्वन गरेको उनको भनाइ थियो। विश्वका विभिन्न मुलुकको शान्ति स्थापना कार्यमा नेपालको योगदान रहेको मन्त्री खड्काले चर्चा गरे।

आतंकवाद मानव अस्तित्वको सत्रु भएको उल्लेख गर्दै मन्त्री खड्काले नेपालले आतंकवादको विरोध गरिरहेको बताए। आणविक हातहतियारको होडबाजीले विश्वको शान्ति र सहअस्तित्वमाथि प्रश्न खडा गर्ने भएकोले नेपाल त्यसको विपक्षमा रहेको उनको भनाइ थियो।

अफ्गानिस्तान, लिविया लगायत द्वन्द्वग्रस्त मुलुकको स्थायित्व आफ्नै अन्तरिक विषय भएकाले सोही अनुरुप आपसी समझदारीमा समाधान हुने विश्वास नेपालको रहेको खड्काले बताए।

मन्त्री खड्काले प्राकृतिक प्रकोप तथा जलवायु परिवर्तनको असर न्यूनिकरणमा नेपालले प्राथमिकता दिएको बताए।

परराष्ट्रमन्त्री खड्का नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रसंघको महासभामा सहभागी हुने क्रममा हाल अमेरीकाको न्यूयोर्कमा रहेका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.