१२ असाेज, काठमाडौं ।
नेपाल मामिला हेर्ने भारतीय विदेश मन्त्रालयका अधिकारी अनुराग श्रीवास्तव काठमाडौंमा आइपुगेका छन् ।
न्यूयोर्कमा नेपाली परराष्ट्रमन्त्री नारायण खड्का र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको दुई दिनपछि श्रीवास्तव काठमाडौं उत्रिएका हुन् । उनी तीनदिने नेपाल भ्रमणमा आएका हुन् ।
भारतीय विदेश मन्त्रालयका पूर्वप्रवक्ता समेत रहेका उनले नेपाल र भुटान मामिला हेर्छन् । काठमाडौंमा रहँदा उनले अर्थ सचिव मधु मरासिनी, वाणिज्य सचिव दिनेश भट्टराई, कार्यवाहक परराष्ट्र सचिव प्रकाश सुवेदी लगायतलाई भेट्ने कार्यक्रम छ ।
नेपाल र भारतबीचमा पछिल्लो समय सुमधुर सम्बन्ध छैन । जयसिंह धामी तुइनबाट महाकालीमा खसेको घटना र हेलिकोप्टर प्रकरणमा नेपालले भारतलाई कूटनीतिक नोट पठाएको तर जवाफ नआएको पृष्ठभूमिमा श्रीवास्तवको भ्रमण भएको हो ।
साथै, नेपालले नक्सामा समावेश गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरामा जनगणना गर्न भारतले अवरोध गरेको पृष्ठभूमिमा उनको भ्रमण भएको हो । देउवा सत्तामा आएपछि भारतीय सत्तारुढ दल बीजेपीका विदेश विभाग प्रमुख विजय चौथाइवाले र बीजेपीका पूर्व महासचिव काठमाडौं आइपुगेका छन् ।
देउवा सरकार बनेपछि नेपाल भ्रमणमा आउने अनुराग भारतीय सरकारका उच्च अधिकारी हुन् ।