दशैंका लागि कुन उपभोग्य वस्तुको मौज्दात कस्तो छ ?

दशैंका लागि कुन उपभोग्य वस्तुको मौज्दात कस्तो छ ?

१२ असाेज, काठमाडाैँ ।
प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले दैनिक उपभोग्य वस्तुको मूल्य, गुणस्तर र आपूर्ति लगायतका विषयमा छलफल गरेको छ । मंगलबार सिंहदरवारमा बसेको समितिको बैठकले नजिकिँदै गरेको नेपालीहरुको महान चाड बडादशैँ, शुभ दीपावली र छठ पर्वलाई मध्यनजर गर्दै दैनिक उपभोग्य वस्तुको मूल्य, गुणस्तर र आपूर्ति लगायतका विषयमा छलफल गरेको हो ।

बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका कृषि सचिव डा.गोविन्दप्रसाद शर्माले चाडबाडमा मासुको खपत अत्याधिक हुने भएकोले आयातित वस्तुहरुको परीक्षण गरिने बताए । उनले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भेडा, खसी र च्याँग्रा लगायतको व्यवस्थापनमा सहजता पुर्याइरहेको भन्दै नागढुंगा नाकामा आयातित मासुजन्य जनावरहरु स्वस्थ छन् कि छैनन् भनेर निरिक्षण गरिने जानकारी दिए । उनले यसका लागि पशु सेवा विभागलाई टिम खटाएर निरिक्षण गर्न लगाइएको पनि बताए । कृषि सचिव शर्माले भने, ‘चाडपर्वमा माछा, मासुको खपत अत्याधिक मात्रामा हुने गर्छ, माछा, मासुको व्यवस्थापनको लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि धेरै सहजता प्रदान गरिरहेको छ, भेडा, च्याँग्रा, खसीहरुको व्यवस्थामा र आपूर्ति गरिरहनुभएको छ, त्यो आयातित मासु स्वस्थ छ कि छैन भनेर हामीले निरिक्षण गर्नपर्छ, त्यसको लागि हामीले पशुसेवा विभागलाई नागढुंगा नाकामै मासुका लागि ल्याइएका जनावरहरु स्वास्थ छन् कि छैनन् भनेर निरिक्षण गर्न निर्देशन दिएका छौँ, पशुसेवा विभागबाट निरिक्षण हुन्छ ।’

खाने तेलको मूल्यबृद्धिमा चासो
बैठकमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले खाने तेलको मूल्य अत्याधिक बढीरहेकोले यसबारेमा उत्पादक समिति र सरोकारवाला निकायहरु बसेर छलफल गर्नुपर्ने बताए । उनले मूल्य मात्र हेरेर निरिक्षण गर्दा उपभोक्ताहरु मारमा परिरहेको बताउँदै उनले तेलको मूल्यसहित गुणस्तरलाई ध्यानमा राखेर निरिक्षण गर्नुपर्ने बताए । महानिर्देशक पौडेलले भने, ‘अहिले बजारमा खाने तेलको मूल्य धेरै नै बढेको छ, यो अहिले मात्रै पनि होइन, एक वर्ष अघिदेखि यही कुरा आइरहेको छ, त्यसैले तेल उत्पादकहरु र सरोकारवाला निकायहरु एक पटक बसेर छलफल गर्नुपर्छ, अर्को कुरा अनुगमनमा जाँदा मात्र मूल्य बढाएको छ कि छैन भनेर निरिक्षण गर्दा उपभोक्तालाई फाइदा छैन, त्यसैले गुणस्तरमा ध्यान दिएर निरिक्षण गरौँ, यस वर्ष पनि चाडबाडमा अनुगमन हुन्छ, हामी अनुगमन गर्नेछौँ ।’

दशैका लागि चामल पर्याप्त
त्यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका विभागीय प्रमुख डिल्लीराज लम्सालले १ लाख ९ हजार ५१२ क्विन्टल चामल गोदाममा रहेको बताए । उनले ६६ हजार क्विन्टल धान कुटानी भइरहेको र गहुँ ९ हजार ६ सय ६४ क्विन्टल खाद्य विभागको गोदाममा रहेको बताए । त्यस्तै विभागीय प्रमुख लम्सालले बाजुरा, मुगु र दार्चुला जिल्लामा खाद्यान्न ढुवानीमा केही समस्या रहेपनि बिस्तारै आपूर्तिको काम अघि बढाइएको बताए । उनले भने, ‘हामीसँग अहिले चामल १ लाख ९ हजार ५१२ क्विन्टल गोदाममा छ, ६६ हजार क्विन्टल धान कुटानी भइरहेको छ,गहुँ ९ हजार ६६४ क्विन्टल छ, अहिले बाजुरा, मुगु र दार्चुला जिल्लामा खाद्यान्न ढुवानीमा केही समस्या आइरहेको छ,तर हामीले बिस्तारै त्यहाँ पनि आपूर्ति गरिरहेका नै छौँ, हामीले २५ हजार क्विन्टल चामल प्रतिकेजी ५ रुपैयाँका दरले छुट दिएर बिक्री गरिरहेका छौँ ।’

तरकारीको मूल्य बढ्नु स्वभाविक
त्यस्तै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका निर्देशक डालप्रसाद पुडासैनीले साउन, भदौ र असोजमा तरकारीको मूल्य बढ्नु स्वभाविक भएको बताए । उनले यी महिनामा तरकारीको सिजन सकिने र नयाँ तरकारी पनि नआइसक्ने भएकोले तरकारीको मूल्य बढ्न गएको स्पष्ट पारे । उनले यसबेला वर्षको सीजन भएकोले पनि बाढी, पहिरो जस्ता प्राकृतिक आपद्ले सडकमा समस्या पर्ने भएकोले तरकारीको मूल्य बढेको बताए । तरकारीको जथाभावि मूल्यलाई नियन्त्रण गर्नको लागि स्थानीय निकायले नै अनुगमन गर्नुपर्ने उनले माग राखे । निर्देशक पुडासैनीले भने, ‘तरकारीको जथाभावि मूल्य नियन्त्रण गर्न पहिले त स्थानीय निकायले नै अनुगमन गर्नुपर्छ, अब यो सीजनमा वर्षाको कारणले सडक बिग्रिँदा पनि कतिपय तरकारी ढुवानी गर्न समस्या पर्छ, त्यसले पनि तरकारीको मूल्यलाई बढाउँछ भने साउन, भदौ र असोज यी तीन महिना तरकारीको सीजन सकिन्छ र नयाँ तरकारी पनि आएको हुँदैन जसले पनि तरकारी अलि महंगो पर्नजान्छ ।’

ध्यूमा प्रतिलिटर ५० रुपैयाँ छुट
त्यस्तै दुग्ध विकास संस्थानका महाप्रवन्धक रुद्रप्रसाद पौडेलले चाडबाडमा आपूर्ति व्यवस्थालाई कडा बनाउन पहल भइरहेको बताए । उनले असोज १ गतेदखि नै केही सामग्रीहरुमा छुट दिइरहेको बताए । उनले ध्यूमा प्रतिलिटर ५० रुपैयाँ र पनिर लगायतका केही सामग्रीहरुमा पनि छुट दिइएको बताए । उनले भने, ‘चाडबाडमा आपूर्ति व्यवस्थालाई सहज बनाउन पहल गरिरहेका छौँ, काठमाडौं लगायत बढी दूधको आपूर्ति हुने ठाउँमा व्यवस्थापनमा सहज बनाएर बिक्री गरिरहेका छौँ भने केही छुटका कार्यक्रम पनि ल्याएका छौँ, हामीले घ्यूमा प्रतिकेजी ५० रुपैयाँ छुट दिइरहेका छौँ भने पनिर लगायतका केही चिजहरुमा पनि छुट दिएका छौँ, हामीले असोज १ गतेबाटै संस्थानका बिक्री केन्द्रबाट सहुलियत छुट दिइरहेका छौँ ।’

घाटा सहेर पेट्रोल विक्री
नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र शाहले अहिले निगमले ५ रुपैयाँ ६४ पैसा घाटामा पेट्रोलको कारोवार गरिरहेको बताए । उनले डिजेलमा २ रुपैयाँ ७२ पैसा घाटा, मट्टितेलमा प्रतिलिटर २० रुपैयाँ नाफा,हवाइ इन्धनमा ५ रुपैयाँ ४३ पैसा नाफा र सिलिण्डरमा ४९५ रुपैयाँ घाटामा सिलिण्डर ग्यास बिक्री गरिरहेको बताए । उनले भने े, ‘आजको मितिमा हामी पेट्रोल ५ रुपैयाँ ६४ पैसा घाटामा कारोवार गरिरहेका छौँ, डिजेलमा २ रुपैयाँ ७२ पैसा घाटा, मट्टितेलमा प्रतिलिटर २० रुपैयाँ नाफा,हवाइ इन्धनमा ५ रुपैयाँ ४३ पैसा नाफा र सिलिण्डरमा ४९५ रुपैयाँ घाटामा सिलिण्डर ग्यास बिक्री भइरहेको छ ।’

१० महिनासम्मलाई नुन स्टक, चिनी आयात गरिने
साल्ट टे«डिङ कर्पोरेशन लिमिटेडकी महाप्रवन्धक उर्मिला श्रेष्ठले चाडबाडमा नुनको खाँचो नपर्ने बताइन् । उनले अहिलेको अवस्थामा कम्पनीमा नुन १० महिनासम्मलाई स्टक रहेको र चिनी भने आवश्यक्ताअनुसार नरहेको बताइन् । उनले चिनीको परिपूर्ति गर्नको लागि सरकारसँग कुरा भइसकेकोले केही दिनमै त्यसको सम्बोधन हुने बताइन् । उनले सुदूरपश्चिममा नुन र रासायनिक मललाई धेरै प्राथमिकता दिए पनि अभाव भएको भन्ने कुरा आइरहेकोले त्यसको परिपूर्ति गरिने बताइन् । उनले सुदूरपश्चिम र कर्णाली प्रदेशमा नुनको अन्य जिल्लाहरुको तुलनामा सबैभन्दा धेरै भण्डारण गरिएको पनि बताइन् । उनले भनिन्, ‘सुदूरपश्चिममा नुन र रासायनिक मललाई हामीले धेरै प्राथमिकतामा राखेका छौँ, अन्य जिल्लाहरुमा भन्दा सुदूरपश्चिम र कर्णाली प्रदेशमा धेरै भण्डारण गरिएको छ, हामीले माघमहिनादेखि चिनीको अभाव छ भनेका छौँ, यो कुरा सरकारलाई पनि भनिसकेका छौँ सायद केही दिनमा यसको सम्बोधन होला, अहिलेको अवस्थामा हामीसँग न्यून मात्रामा चिनी छ ।’

महाप्रवन्धक श्रेष्ठले अहिले कर्पोरेशनसँग १ लाख ४२ हजार ३०९ मेट्रिक्टन नुन रहेको बताउँदै यो मात्राले अझै १० महिना धान्ने बताइन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.