१३ असोज, गोरखा ।
मनास्लु हिमाल आरोहण गर्ने क्रममा एक विदेशी नागरिकको मृत्यु भएको छ ।
उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–१ मा ३७ बर्षका क्यानडियन नागरिक ब्रेन्ट सिलको मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
मनास्लु हिमालको चौथो बेसक्याम्प भन्दा अन्दाजी एक सय मिटर माथिको उचाइमा पुगेका बेला उनी अचानक बेहोस भएर ढलेका थिए ।
डीएसपी प्रकाश दाहालले भने, ‘बेहोस भएपछि हिमाल आरोहण आयोजक ट्याग नेपाल ट्रेक्स कम्पनीका शंकर कुमार गुरुङले हामीलाई खवर गरे । सामागाउँ प्रहरी चौकीको टोली पुग्दा उक्त नागरिकको मृत्यु भइसकेको रहेछ ।’
उनी स्नो होराइजन कम्पनीबाट स्वीकृति लिएर उनी हिमाल चढ्न गएका थिए । सिलको शवलाई स्थानीय वासिन्दाको सहयोगमा कैलाश एयरको हेलिकप्टर मार्फत बुधबार काठमाडौंको शिक्षण अस्पताल लगिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।