१५ असाेज, काठमाडौँ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट शक्तिलाई एकताबद्ध बनाएर लैजाने बताएका छन् । ललितपुरको गोदावरीमा सुरु भएकाे पहिलो विधान महाधिवेशनमा आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई सही दिशामा अगाडि बढाउनुपर्ने अभिभारा नेकपा एमालेको काँधमा आएको बताए ।
अध्यक्ष ओलीले कम्युनिष्ट पार्टीका नाममा सत्ता र पदमा लोभिएर जानेहरू र दक्षिणपन्थीहरुले पार्टीविरुद्ध घेराबन्दी सुरु गरेको भन्दै त्यसको प्रतिवाद गर्नुपर्नेमा जोड दिए । अध्यक्ष ओलीले नेकपा एमाले विदेश नीतिमा राष्ट्रिय हितको रक्षा र सबैसँग मित्रता कायम गर्दै अघि बढ्ने बताए ।
उनले छिमेकी देशका जायज चासोप्रति सजक हुँदै त्यस्तै सम्मान आफूहरूले पनि छिमेकीबाट चाहेको बताए । अध्यक्ष ओलीले संविधानकै कारण नेपाली समाज राजनीतिक स्थायित्व र समृद्धिको चरणमा प्रवेश गरेको भन्दै आगामी दिनमा संविधानको रक्षा र कार्यान्वयनमा पार्टीले यसैगरी नेतृत्वदायी भूमिका खेल्ने स्पष्ट पारे ।
नयाँ राजनीतिक परिस्थितिमा पार्टीको नीति र विधि तय गर्न तीन दिने विधान महाधिवेशन सुरु भएको हो । महाधिवेशनको बन्द सत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सङ्गठनात्मक प्रस्ताव र उपमहासचिव एवं सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ ।