१६ असोज, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको हिरो आफू नै रहेको बताएका छन् । शनिबार पार्टीको सम्पर्क समन्वय विशेष प्रदेश समितिले ललितपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले बुद्धिजीवी, नागरिक आन्दोलनकर्मीलगायत सबैले देशको हिरो प्रचण्ड नै हो भनेर भनेको बताएका हुन् ।
उनले भने, ‘अहिले थुप्रैसँग छलफल र भेला भइरहेको छ– विदेशी कूटनीति, बुद्धिजीवी, पत्रकार, पार्टीका साथीहरु, नागरिक आन्दोलकर्मी । र, सबैले भन्नुहुन्छ (टुक्रिनेहरुले पनि) देशको हिरो भनेको माओवादी नै हो, प्रचण्ड नै हो ।’
अध्यक्ष प्रचण्डले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई÷दुई पटक संसद विघटन गरेपछि बल्ल आफूले ज्ञान प्राप्त गरेको र मान्छे भएको पनि बताए ।
केपी ओली खलनायक भएको पनि पनि अध्यक्ष प्रचण्डले भनेका छन् । उनले भने, ‘नायक नायक नै हुन्छ, खलनायक खलनायक नै हुन्छ । पहिलो र दोस्रो संसद विघटनको क्रियाकलापले त्यो प्रमाणित गर्यो ।’