१६ असाेज, मुम्बई ।
साउथ इन्डियन फिल्मका सुपरस्टार नागा चैतन्य र समन्था अक्किनेनीले वैवाहिक सम्बन्ध विच्छेद गरेको घोषणा गरेका छन् ।
उनीहरुले शनिबार एक विज्ञप्ति जारी गर्दै आफूहरु अब अलग हुने फैसला गरेको प्रतिक्रिया दिएका छन् । साथै उनीहरुले यस मुद्दामा गोपनियता दिन पनि सञ्चारमाध्यम समक्ष आग्रह गरेका छन् ।
समन्थाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘मैले र नागा चैतन्यले आफ्नो बाटोमा हिँड्नका लागि पति पत्नीको रुपबाट अलग हुने फैसला गरेका छौँ । एक दशकभन्दा लामो मित्रता हाम्रो सम्बन्धको मुख्य हिस्सा थियो । साथै हामीलाई विश्वास छ कि हाम्रो बीचमा एक विशेष सम्बन्ध रहनेछ ।’
तर मिडियासमक्ष उनले गोपनियताको माग समेत गरेकी छन् । उनले यस्तो कठिन समयमा आफूहरुलाई गोपनियता र समर्थन चाहिएको भन्दै शुभचिन्तक र प्रशंसकहरुसँग अपिल समेत गरेकी छन् । उनले लेखेकी छन्, ‘यो कठिन समयमा हाम्रो समर्थन गरिदिनुहोला जसले हामीलाई यसभन्दा अगाडि बढ्न मद्दत मिलोस् ।’
सामन्थालाई डिभोर्सपछि जीवन अगाडि बढाउनका लागि नागाको तर्फबाट ५० करोड मिल्नेछ । सन् २०१७ को अक्टुबर ६ मा यी दुइले गोवामा १० करोड खर्च गरेर बिहे गरेका थिए । आगामी अक्टोबर ६ मा विवाहको चार वर्षगाँठ पूरा हुनुअघि नै उनीहरुले अलगिने घोषणा गरेका हुन् ।