माधवकुमार नेपाल डिस्चार्ज भएपछि मात्र सरकार विस्तार गर्ने देउवाको तयारी

माधवकुमार नेपाल डिस्चार्ज भएपछि मात्र सरकार विस्तार गर्ने देउवाको तयारी

१७ असोज, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले तीन महिना पुग्न लाग्दासमेत मन्त्रिपरिषद् विस्तार गर्न सकेको छैनन्।

पाँच दलीय गठबन्धनबाट प्रधानमन्त्री भएका देउवाले अनेक बहाना बनाउँदै मन्त्रिपरिषद् विस्तारलाई टार्दै आएका छन्।

पछिल्लो समय नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बिरामी भएकाले विस्तार गर्न नसकिएको बताउने गरेका छन्। नेपाल अस्पतालबाट डिस्चार्ज भएपछि मात्र मन्त्रिपरिषद्ले पूर्णता पाउने उनकै क्याविनेटका एक मन्त्रीले बताए।

‘गठबन्धनमा कुन दलले कुन मन्त्रालय लिने भन्ने विषयमा भागबण्डा मिलेको छैन, त्यसमा केही विषय टुुंगिन बाँकी छ,’ ती मन्त्रीले भने, ‘माधव कमरेड बिरामी भएकाले सहमति गर्न गाह्रो भयो। उहाँ डिस्चार्ज भएपछि छलफल गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिइनेछ।’

नेपाल अस्पतालबाट सोमबार डिस्चार्ज हुने उनको सचिवालयले जनाएको छ। नेपाललाई रुघाखोजी र ज्वारो आउने भएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए। उनको स्वास्थ्यमा उल्लेख्य सुधार भएको चिकित्सकहरुले बताएका छन्।

यस्तै, देउवासँग गठबन्धनमा सहभागी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव चिढिएको बताइएको छ। यादव उपप्रधानसहित परराष्ट्र मन्त्रीको जिम्मेवारी लिएर सरकारमा जाने योजनामा थिए। देउवाले पनि यादवलाई परराष्ट्रमन्त्री दिने आश्वासन दिएका थिए। अन्तिममा देउवाले आफू निकट नारायण खड्कालाई परराष्ट्र मन्त्री बनाएपछि असन्तुष्ट भएका हुन्।

अहिलेसम्म प्रधानमन्त्री देउवाले अर्थ, गृह, उर्जा, परराष्ट्र कानुन मन्त्री र स्वास्थ्य राज्यमन्त्री मात्रै बनाएका छन्। अरु १७ मन्त्रालय प्रधानमन्त्रीले आफ्नो भागमा राखेका छन्। गठबन्धनमा कति मन्त्रालय कुन दलले दिने भन्ने विषयमा सहमति भइसकेको छ।

कांग्रेसले प्रधानमन्त्रीसहित सात, माओवादी र एकीकृत समाजवादी ५ मन्त्री र एक राज्य मन्त्री पाउने सहमति भएको छ। जनता समाजवादी पार्टीमा ४ मन्त्री र एक राज्य मन्त्री दिने सहमति भएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.