१७ असोज, दार्चुला ।
व्याँस गाउँपालिकाका नागरिक फेरि पनि तुइनमा झुन्डिँदै गाउँ आउनजान बाध्य भएका छन्।
सरकारले व्याँस गाउँपालिका–२ दुम्लीङ, राप्ला मालका लागि वैकल्पिक बाटोको व्यवस्था गर्न नसक्दा फेरि पनि तुइनमा झुन्डिँदै यात्रा गर्न बाध्य भएका हुन्।
राप्ला र मालगाउँका सयौँ परिवार फेरि पनि तुइनमा झुन्डिएर वारपार गर्न थालेका छन्। सरकारले वैकल्पिक बाटोको विकल्प दिन नसक्दा उनीहरुले पुरानै शैलीको तारको प्रयोग गर्दै आवतजावत गर्न लागेका छन्।
स्थानीय सरकारले माल गाउँका लागि हेलिकप्टरमार्फत खाद्यान्न गाउँ पु¥याए पनि दुम्लिङका स्थानीयवासीका लागि खाद्यान्न ढुवानी हुन सकेको छैन।
खाद्य संस्थानले ठेक्कामार्फत चामल पु¥याउने भने पनि अझै पु¥याउन नसकेको स्थानीवासी प्रभात बुढाथोकी बताउँछन् । उनी भन्छन्, गाउँमा खाद्यान्न ढुवानी हुन नसकेपछि बाध्य भएर फेरि पनि तुइनबाट खाद्यान्न ढुवानी गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
तुइनको जोखिम मोलेर दुम्लिङका स्थानीयवासीले खाद्यान्न र आवतजावत गर्नु परेको अर्का स्थानीयवासी महेन्द्र बुढाथोकी बताउँछन्। उनका अनुसार बाटोको विकल्प छैन।
तुइनबाट नगएर गाउँ पुग्न दुई दिनभन्दा बढी लाग्छ। ‘वर्षौंदेखि मजबुर भएर तुइनमा झुन्डिनु परेको छ,’ उनी भन्छन्, ‘यो क्षेत्रमा राज्यको नजर कहिले पुग्ला ।’
नेपालबाट दुम्लिङ पुग्न दुई दिन लाग्छ। भारतीय बाटो हुँदै जाँदा दुई घण्टामै गाउँ पुगिन्छ। यो क्षेत्रमा दुई वर्षअघिसम्म काठको पुलमार्फत महाकाली वारपार हुने गथ्र्यो।
कोभिड–१९ को लहर आएसँगै यो क्षेत्रमा लगाइएको काठेपुल भत्काइएको हो। त्यसयता अहिले नागरिकले तुइन लगाएर आवतजावत गर्न थालेका हुन्।
फेसबुकमा जलन बुढाथोकी लेख्छन्, ‘जिन्दगीको कुनै निश्चित छैन, कतिखेर महाकालीमा विलीन हुने हो, यो बाध्यता कस्ले बुझिदिने ?’ गत साउन १५ गते व्यास गाउँपालिका–२ कै जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएयता यहाँका नागरिकलाई पनि तुइनमा आवतजावत गर्न निकै डर लागेको छ। तर तुइनको विकल्प नभएपछि अहिले पनि उर्लंदो महाकालीमा आवतजावत गर्न बाध्य भएका हुन्।
व्यासको दुम्लिङ सडक अहिले नै पुग्न सक्ने अवस्था छैन। यो क्षेत्रमा भर्खर मात्र नेपाली सेनाले सडक निर्माणको काम थालनी गरेको छ। मालगाउँ नजिकैबाट सेनाले काम सुरु गरेको छ। व्यास–३ तुसरपानी क्षेत्रमा सडक निर्माणमा भएको बेवास्ताले पनि नेपालीले दुःख पाएको दुम्लिङका स्थानीयवासी प्रभात बुढाथोकी बताउँछन्।
उनी भन्छन्, ‘यस्तै छ, हाम्रो परिस्थिति नेपालीको बाध्यता राज्यको ध्यान नजानू ।’ राज्यले ध्यान नदिएकै कारण मालमा घटना घटेको हो।
मालघाटमा झोलुङ्गेपुल निर्माणका लागि ठेक्का भएको तीन वर्ष हुँदा पनि निर्माण कार्य अघि बढेको छैन। पुल निर्माण मात्रै भएको भए राप्ला, माल र दुम्लिङका नागरिकले राहत पाउँथे, मालका स्थानीयवासी नरेन्द्रसिंह धामी भन्छन्, ‘मेरो दाइ बेपत्ता भएको महिनौँ भयो, अझै पनि सरकारले यो क्षेत्रमा पुल निर्माणका लागि ठेकेदारलाई घच्घच्याएको छैन।’
नवीनसिंह डोबाल भन्छन्, ‘व्याँसवासीका अनगिन्ती पीडा छ, महाकालीमा तुइन लगाउँदा अझै पनि छिमेकी भारतीयको त्रास छ ।’ त्रासका बीच तुइनको डोरीमा आवतजावत गर्नुपरेको छ।
एकातिर गाउँमा नुनतेल हुँदैन। खाद्यान्नलगायत दैनिक उपभोग्य समान भारतबाटै निर्यात गर्नुपर्छ। सरकारले तुइन बन्द भएको तीन महिनासम्म पनि खाद्यान्न ढुवानी गर्न नसक्दा स्थानीयवासीले फेरि जोखिम मोलेर तुइन लगाउन थालेका हुन्। रासस