१८ असाेज, इटहरी ।
इटहरी उपमहानगरपालिकाले खनार बजारमा गरेको बजार अनुगमनका क्रममा म्याद गुज्रेका समान वेच्न राखेको पाइएको छ । अनुगमन टोलीले म्याद गुज्रिएका समान नष्ट गरेको छ । खनार वजारका १४ वटा खाद्यान्न तथा किराना पसलको अनुगमन गरिएको हो ।
उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, खादय प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि, उपभोक्ता अधिकारवादी संस्थाका प्रतिनिधि र प्रहरी सहित अनुगमन गरिएको हो । अनुगमनका क्रममा पाँच वटा पसलमा म्याद गुज्रिएका समान वेच्न राखेको पाइएको हो । एउटा पसलमा त तीन वर्षअघि म्याद गुज्रिसकेको समान समेत राखेको पाइएको छ । चाउमिन मसला, मन्थन गोल्ड सुजी, मुसुरो दाल,ज्वाँनो,पवित्रा मकै चामल,पूर्णिमा गरम मसला,सेन्चुरी मसला,मिट मसला,गोल्ड सेवाई,वजाज अल्मोण्ड तेल,अमृत कफि चकलेट र विकेएस मसला म्याद गुज्रिएको पाइएको हो ।
पाँच वटा पसलमा मूल्य सूची नराखेको पाइएको थियो । यस्तै चार वटा पसल ब्यवसाय प्रमाण पत्र विनानै संचालन भएको भेटिएको छ । दुईवटा पसलको नविकरण नभएको पाइएको छ । अनुगमनका क्रममा ब्यवसाय प्रमाण पत्र लिन,पसल नविकरण गर्न र लेवल गरेर मात्र समान वेच्न निर्देशन दिइएको छ ।
पहिलो पटक भएकाले म्याद गुज्रिएका समान नष्ट गरी त्यस्ता समान नवेच्न र छुटटै ठाँउ वनाएर राख्न निर्देशन दिइएको उपमहानगरको उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवल किशोर भटटराईले जानकारी दिए । अर्को पटक अनुगमनका क्रममा पनि म्याद गुज्रिएका समान वेच्न राखेको पाइए कानुन बमोजिम कारवाही हुने उनले बताए । गत साल बजार अनुगमन गरिएका पसलहरुमा भने सुधार आएको पाइएको छ । इटहरी उपमहानगरपालिकाले निरन्तर बजार अनुगमन गर्ने उनले जानकारी दिए ।