२० असोज, काठमाडौं ।
गृहमन्त्री बालकृष्ण खाणले मुलुकमा शान्ति सुरक्षा र अमन चयन कायम गर्न र विधिको शासन स्थापनामा नेपाल प्रहरीको भूमिका अतुलनीय रहेको बताएका छन्।
६६औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार आयोजित कार्यक्रममा गृहमन्त्री खाणले ऊर्जाशील जीवनको अतुलनीय समय प्रहरीमा रहेर राष्ट्रियता, विधिको शासन र शान्ति सुरक्षा स्थापनार्थ लागिपर्नेहरूको प्रशंशा गरे।
‘शान्ति सुरक्षा र अमन चयन कायम गर्न र विधिको शासन स्थापनार्थ नेपाल प्रहरीको भूमिका अतुलनीय छ,’ मन्त्री खाणले भने, ‘ऊर्जाशील जीवनको अतुलनीय समय प्रहरीमा रहेर राष्ट्रियता, विधिको शासन र शान्ति सुरक्षा स्थापनार्थ लागिपर्ने प्रहरीहरूप्रति मेरो सम्मान छ।’
सरकारले नीतिगत निर्णय गर्दा हुने विरोधमा सबैभन्दा पहिला विरोधीको निसानामा ड्युटीमा रहेको बर्दीधारी प्रहरी पर्ने भन्दै उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनालाई कसरी आधुनिकीकरण गरेर समय सापेक्ष बनाउने भन्नेमा सरकार गम्भीर रहेको बताए।
विश्वभर फैलिएको कोभिड–१९ महामारी, प्राकृतिक प्रकोप, बाढी, पहिरो डुवानलगायत विपद्मा परेका नागरिकलाई आफ्नो जीवनको पर्वाह नगरी उद्दारमा खटिने प्रहरीको कार्य स्रहानीय रहेको बताए।
प्रहरी दिवसको अवसरमा यसवर्ष कर्तव्य पालनाको सिलसिलामा अमरत्व प्रदान गर्ने ३३ प्रहरीका परिवारलाई सम्मान गरियो। तीमध्ये ७ जनालाई काठमाडौंबाट र अन्य २६ जनालाई विभिन्न प्रदेशमा प्रहरीले सम्मान गरिएको हो।
कार्यक्रममा पहिलो महिला प्रहरी चैतमाय डंगोललाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो।