२० असोज, काठमाडौं ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहबाट उमाकान्त चौधरी मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारसम्म मन्त्रिपरिषद् विस्तारको तयारी गरेपछि सिटाैला समुहले चाैधरीकाे नाम सिफारिस गरेकाे हाे ।
कांग्रेसको भागमा आठवटा मन्त्रालय परेको छ । संस्थापन समूहबाट तीन मन्त्री र एक राज्यमन्त्री चयन भइसकेका छन् । बाँकी चार मन्त्रीमध्ये तीन मन्त्रालय संस्थापन इतर समूहले पाउने भएका छन् । त्यसमध्ये पौडेल समूहको भागमा दुईवटा मन्त्रालय परेका छन् । एउटा मन्त्रालय कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाले आफ्नो समूहसँग राख्ने भएका छन् ।
मन्त्री छान्न वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बस्दैछ । पौडेल समूहमा मन्त्रीका लागि केन्द्रीय सदस्यहरु सुजाता कोइराला, डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, तेजुलाल चौधरी र राजन केसीको नाम चर्चामा छ ।
सरकार गठन भएको ८५ दिन पुग्दा पनि मन्त्रिमण्डल विस्तार नभएको भन्दै प्रधानमन्त्रीको आलोचना हुँदै आएको छ ।