प्रदेश २ लाई बदनाम गर्ने प्रयास भएको छ : मुख्यमन्त्री राउत

प्रदेश २ लाई बदनाम गर्ने प्रयास भएको छ : मुख्यमन्त्री राउत

२० असाेज, जनकपुरधाम ।

प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले आफू नेतृत्वको सरकारलाई बदनाम गर्न अनेक चलखेल भइरहेको आरोप लगाएका छन् । उनले आफ्नो नेतृत्वमा सरकार बनेको साढे तीन वर्षभन्दा बढी समय भइसकेको भन्दै यसबीचमा धेरै चुनौती पार गर्दै यहाँसम्म आइपुगेको बताए ।

बुधबार प्रदेशसभाको सातौं अधिवेशनको पहिलो बैठकमा सम्बोधन गर्दैै उनले प्रदेश–२ सरकारलाई विभिन्न ढङ्गले हमला गर्ने प्रयास भइरहेको बताए । आफू सुशासन र पारदर्शिताको पक्षपाती रहेको भन्दै उनले हालै मुख्यमन्त्री कार्यालयमा भएको अख्तियारको छापालाई पनि आपत्तिजनक  भएकाे बताए ।

उनले भने, ‘यो त संस्थामाथिको हमला हो । प्रदेश सरकारलाई बदनाम गर्न अनेक प्रकारका षड्यन्त्र भइरहेको छ ।’ उनले मुख्यमन्त्री कार्यालयबाट साइकल वितरणमा अनियमितता भएको भन्ने हल्लामा सत्यता नरहेको पनि बताए । उनले भने, ‘त्यो बजेटको व्यवस्थापन कसले गरेको ? तपाईहरु (सांसदहरु) ले बजेट पास गरेको होइन र ? मुख्यमन्त्रीले बजेट कार्यान्वयन गर्ने होइन नि, मुख्यमन्त्रीले बजेट खर्च गर्ने होइन ।’

उनले प्रदेशसभा सदस्यहरु नै आफ्नो लागि न्यायाधीश हुने बताए । संघीयतालाई कमजोर बनाउने र समाप्त पार्ने शुरु देखिको खेल अन्तर्गत प्रदेश–२ लाई नै बारम्बार निशाना बनाउँदै आएको उनको भनाइ थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.