२० असोज, काठमाडौं ।
परराष्ट्रमन्त्री डा. नारायण खड्काले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता सबैको सहमतिमा मात्र अघि बढाउने बताएका छन् ।
बुधबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री डा. खड्काले एमसीसीबारे दलहरुको एकस्वर हुनुपर्ने बताए ।
माओवादी र कांग्रेसको गठबन्धन सरकार भएका बेला तत्कालीन अर्थमन्त्रीले एमसीसी सम्झौतामा हस्ताक्षर गरेको स्मरण गराउँदै मन्त्री खड्काले राष्ट्रिय हितमा छ कि छैन भन्ने कुरा त्यसअघि किन अध्ययन नगरिएको हो भनेर प्रश्न गरेका छन् । उनले भने, ‘हस्ताक्षर गर्नु पहिला किन अध्ययन गरेनौं ? यो सहमतिका क्रममा ७ वटा परराष्ट्रमन्त्री बनिसकेका छौं ।’
मन्त्री खड्काले एमसीसी नेपालको हितमा भए पास गर्नुपर्ने तर हितमा नभए अमेरिकालाई भन्नुपर्ने बताए । उनले भने, ‘अब एमसीसीमा एकस्वर बनाएर अगाडि बढ्नुपर्छ । हाम्रो हितमा छ भने पास गरौं, हितमा छैन भने अमेरिकालाई भनौं, यो हाम्रो हितमा पाएनौं । त्यसपछि ड्यामेज कसरी कन्ट्रोल गर्ने होला ?’
एमसीसी सम्झौता पास नगर्दा हुने क्षति कसरी न्यूनीकरण गर्ने भनेर पनि सोच्नुपर्ने उनले बताए । एमसीसीबारे जनतामा मिसइन्फर्मेसन, डिस्इन्फर्मेसन तलसम्म तलसम्म गएको पनि मन्त्री खड्काको भनाइ थियो ।