२१ असोज, काठमाडौं।
सरकारमा सहभागी हुने थप मन्त्रीका विषयमा सहमति जुटाउन बसेको नेपाली कांग्रेसको वैठक विना निष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार राती बसेको शीर्ष नेताको बैठक मन्त्री बन्नेको नाम टुङ्गो नलगाई सकिएको हो ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्ना तर्फबाट तीन जना मन्त्री बनाउन प्रस्ताव गरेका थिए । तर, देउवाले पौडेलको प्रस्ताव अनुसार मन्त्री बनाउन नसकिने बताएपछि बैठक बिना निष्कर्ष टुङ्गिएको हो । बैठकपछि एक नेताले भने, ‘हामीले तीन जना हुनुपर्छ भनेर माग ग¥यौं । उहाँले सकिँदैन भन्नु भयो । त्यसपछि हामी उठ्यौं । कुरा मिल्नै बाँकी छ भोलि नै मन्त्रिपरिषद् विस्तार होला जस्तो देखिंदैन ।’
बैठकमा वरिष्ठ नेता पौडेल, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह लगायतका नेता सहभागी थिए । बालुवाटार बैठकअघि पौडेल र सिटौलाले आफूनिकट नेताहरुसँग छुट्टै छलफल गरेका थिए । पौडेल समूहले कांग्रेसले पाउने सात मन्त्रालयमध्ये त्यसको ४० प्रतिशत बराबरको संख्यामा आफूहरुले भाग पाउनुपर्ने निष्कर्ष निकालेको थियो ।
सरकार गठन भएको करिब ३ महिना पुग्न लाग्दा गठबन्धनमा बल्ल मन्त्रालय बाँडफाँडको सहमति भएको छ । मंगलबारको सहमतिबमोजिम कांग्रेसले अब स्वास्थ्य तथा जनसंख्या, सञ्चार तथा सूचना प्रविधि, रक्षा, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय पाउने छ । तर, दलहरुले मन्त्री छान्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा भने अझै केही दिन लाग्न सक्ने देखिएको छ ।