उत्तरी नाकामा रोकियो १० हजार मेट्रिक टन युरिया

उत्तरी नाकामा रोकियो १० हजार मेट्रिक टन युरिया

उत्तरी नाका तातोपानीबाट नेपाल ल्याउन लागिएको १० हजार मेट्रिकटन (मेटन) युरिया मल नाकामै रोकिएको छ । हाल तरकारी बालीका लागि आवश्यक रासायनिक मलको अभाव टार्न र हिउँदेबाली गहुँका लागि समेत अभाव हुन नदिन उत्तरी नाकाबाट ल्याउन लागिएको युरिया मल नाका अवरोधका कारण रोकिएको हो ।

सिल्क मार्केट नामक नेपाली कम्पनीले १० हजार मेटन युरिया मल १० दिनअघि ल्हासा पार गराएर सिगात्से भन्ने स्थानमा ल्याइपुर्‍याएको भए पनि नाकामा भएको असहजताका कारण नेपाल भित्र्याउन सकेको छैन । कृषि सामग्री कम्पनी लिमिटेडले १० हजार मेटन युरिया र ५ हजार मेटन डीएपीसहित कुल १५ हजार मेटन रासायनिक मल उत्तरीनाकाबाट ल्याउन लागेको भए पनि ५ हजार मेटन डीएपी भने नाकामा आइपुग्न अझै केही दिन समय लाग्ने भएको छ ।

कम्पनीले यसअघि दिएको जानकारीअनुसार असोज अन्तिम सातासम्म सबै मल विक्रेताको डिलरसम्म पुर्याइसक्ने योजना थियो । तर, मल नाकामै रोकिएपछि विक्रेता कहाँसम्म पुग्न अझै समय लाग्ने देखिएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु पोखरेलले दिएको जानकारीअनुसार समयमै मल नेपाल भित्र्याउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले परराष्ट्र मन्त्रालय र आपूर्ति मन्त्रालयसँग समन्वय गरी तिब्बतको ल्हासास्थित नेपालका लागि महावाणिज्य दूतावासका अधिकारीहरूसँग अनुरोध गरे पनि काम हुन सकेको छैन । यसका लागि नेपाल सरकारले उच्चस्तरीय कूटनीतिक तहबाट छलफल गर्नुपर्ने उनले बताए ।

तातोपानी भन्सार प्रमुख नारद गौतमले चिनियाँ पक्षले नाकामा रोकिएर रहेका सबै कन्टेनरहरूलाई सहज रूपमा नेपालतर्फ छाड्ने भनेर आश्वासन दिएको भए पनि व्यवहारमा लागू नगर्दा नाकामा रोकिएर रहेका सामान नेपाल ल्याउन समस्या भएको बताए ।

उनका अनुसार १० हजार मेटन युरिया मलसहित नाकामा करीब ११ सयभन्दा बढी कन्टेनर सामान रोकिएर रहेको छ ।, यो समाचार आर्थिक अभियान दैनिकमा छापिएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.