२१ असोज, काठमाडौं ।
अष्ट्रेलिया पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाको टोलीले क्विन्सल्यान्ड एजुकेशन फाउन्डेशन प्रालीको सञ्चालक विराटनगरका ४१ वर्षीय मणि निरौलालाई पक्राउ गरेको हो। उनलाई काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरिएको महानगरीय प्रहरीले जनाएको छ।
उनले अष्ट्रेलिया पठाउने भन्दै १२ लाख ठगेको प्रहरीमा उजुरी परेको थियो। प्रहरीका अनुसार उनले म्याग्दी घर भई टोखा नगरपालिका बस्ने २४ वर्षीय सुजन खत्रीलाई अध्ययनका लागि डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पठाउने भन्दै रकम लिएका थिए।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनको प्रालि अहिले बन्द रहेको छ।