काठमाडौं: कांग्रेस सहमहामन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महत नेतृत्वको प्रतिनिधिमण्डलले दिल्लीमा भाजपा अध्यक्ष जयप्रकाश नड्डालाई भेटेर प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाका तर्फबाट नेपाल भ्रमणको निम्तो दिएको छ । नड्डाले नेपाल भ्रमणका लागि इच्छुक भएको भन्दै उपयुक्त समयको पर्खाइमा रहेको जवाफ दिएका छन् ।
महतसहित नेताहरू उदयशमशेर राणा र अजय चौरसियाको टोलीले बिहीबार नड्डा र विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेलगायत नेताहरूसँग भेट गरेको हो । टोली बिहीबार नै दिल्ली पुगेको थियो ।
‘प्रधानमन्त्री एवं पार्टी सभापतिका तर्फबाट भाजपा अध्यक्षज्यूलाई नेपाल भ्रमणको निमन्त्रणा दिइएको छ । उहाँले नेपाल भ्रमणका लागि इच्छा देखाउँदै उपयुक्त समयको पर्खाइमा रहेको जवाफ दिनु भएको छ,’ भेटवार्तापछि डा. महतले दिल्लीबाट टेलिफोनमा भने ।
दुई पार्टी र देशबीच एक–अर्कालाई नजिकबाट बुझ्न यो भ्रमण भएको विषयमा छलफल भएको पनि उनले बताए । ‘दुई देशबीच पनि समानता र सम्मानका आधारमा सम्बन्ध अघि बढाउनुपर्छ भन्नेमा भाजपा अध्यक्ष ज्यूको जोड थियो । हामीले पनि त्यही भन्दै आएका थियौँ । दुई देशका जनताको सांस्कृतिक सम्बन्धका विषयमा पनि हामीबीच छलफल भयो,’ डा. महतले भने ।
नेता राणाले भेटवार्तामा दुई पार्टीको सम्बन्ध विस्तारबारे सौहार्दपूर्ण छलफल भएको ट्विटरमा लेखेका छन् । उनले लेखेका छन्, ‘दुई पार्टी सम्बन्ध विस्तारका बारेमा हामीहरूबीच सौहार्दपूर्ण कुराकानी भएको थियो ।’
भारतीय जनता पार्टीले पनि दुई पार्टी र देशबीच सम्बन्ध थप सुदृढ बनाउने विषयमा कांग्रेस प्रतिनिधिमण्डलसँग छलफल भएको जनाएको छ । भाजपाले दुई पार्टीबीच विभिन्न आयाममा सम्बन्ध सुदृढ गर्ने विषयमा अन्तक्र्रिया भएको जनाएको छ । अध्यक्ष नड्डाले नेपाल–भारत सम्बन्ध थप सुदृढ गर्नुपर्ने विषयमा जोड दिएको भाजपाले ट्विटरमा जनाएको छ ।
नेपाली प्रतिनिधिमण्डलले शुक्रबार भारतीय विदेशमन्त्री डा. एस जयशंकर र भाजपाका शीर्ष नेतासँग भेटवार्ता गर्ने तय भएको छ । यसैगरी टोलीले शनिबार उत्तरप्रदेशको लखनउ पुगेर मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भदौ पहिलो साता नेपालको औपचारिक भ्रमणमा काठमाडौं आएका भाजपा विदेश विभाग प्रमुख डा. चौथाइवालेको निमन्त्रणामा कांग्रेसको प्रतिनिधिमण्डल दिल्ली गएको हो ।
दिल्ली उड्नुअघि सञ्चारकर्मीसँग सहमहामन्त्री महतले भाजपा नेताको नेपाल भ्रमणपछि कांग्रेसको पारस्परिक (रेसिप्रोकल) भ्रमण भएको बताएका थिए । कांग्रेस र भाजपाबीचको सम्बन्ध र नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउने उद्देश्य रहेको उनको भनाइ थियो । स्रोतका अनुसार महत नेतृत्वको टोलीले भाजपा नेता र विदेशमन्त्रीलाई शेरबहादुर देउवा नेतृत्वको सरकारको भारत नीतिबारे जानकारी दिनेछ ।
दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरूलाई नेपाली राजदूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदी, नेपाली कांग्रेसका युवा नेताहरू सन्दीप राना, अम्बिकाप्रसाद जोशीलगायतले स्वागत गरेका थिए । उनीहरूले सरकारद्वारा फिर्ता बोलाइएका राजदूत नीलाम्बर आचार्यसँग पनि भेटवार्ता गरेका थिए ।
भाजपा विदेश विभाग प्रमुख चौथाइवालेले भदौ पहिलो साता प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली, माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका थिए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश भन्दै नेपालसँग बलियो सम्बन्ध राख्न चाहेको बताएका थिए ।
नेपाली प्रतिनिधिमण्डलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ताको अपेक्षा गरेको छ । तर, स्रोतका अनुसार भाजपा नेतृत्वले बिहीबार साँझसम्म मोदीसँगको भेट सुनिश्चित गरेको छैन । नेपाली प्रतिनिधिमण्डलले वाराणसीको पनि भ्रमण गर्ने कार्यक्रम छ । काशी हिन्दू विश्वविद्यालयमा उनीहरूले नेपाल–भारत समबन्धबारे सम्बोधन गर्ने गरी कार्यक्रमको तयारी भइरहेको नेपाल विद्यार्थी संघ भारतका महामन्त्री सूर्य न्यौपानेले जानकारी दिए ।,याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।