सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले मन्त्रालय भागबन्डामा हरेफेर गरेर टुंगो लगाएसँगै शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने सहमति गरेका छन् । मंगलबारकै बैठकमा बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने सहमति गरेका गठबन्धनका शीर्ष नेताहरूले भागबन्डाको विषयमा पार्टीभित्र सहमति र त्यसअनुसार आकांक्षीको व्यवस्थापन गर्न नसकेपछि बिहीबार त्यसलाई हेरफेर गरेका हुन् ।
बिहीबारको नयाँ सहमतिसँगै शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ । ‘दलहरूबीच नयाँ सहमति बनेको छ, आज मन्त्रिपरिषद् विस्तार हुन्छ,’ अर्थमन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्माले भने, ‘शुक्रबार नै शपथ गराउने तयारी छ ।’
दलहरूबीच नयाँ सहमति बनेको छ, मन्त्रिपरिषद् विस्तार गरेर आज शपथ गराउने तयारी छ । बिहीबार बसेको गठबन्धन बैठकले यसअघि भएको सहमतिअनुसार दलहरूले पाउने मन्त्रीको संख्यालाई यथावत् राख्दै मन्त्रालय भने सामान्य हेरफेर गरेको छ । जसअनुसार नेकपा एसको तर्फबाट मन्त्री पठाउने भनिएको कानुन मन्त्रालय प्रमुख सत्तारुढ दल कांग्रेसले नै राख्ने भएको छ । नेकपा एसलाई कानुन मन्त्रालयको ठाउँमा स्वास्थ्य मन्त्रालय दिने सहमति भएको छ । त्यसबाहेक नेकपा एसले श्रम तथा रोजगार, संस्कृति तथा पर्यटन र सहरी विकास मन्त्रालय पाएको छ ।
यसअघि कानुन मन्त्रालय नेकपा एसको भागमा परे पनि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिफारिस गरेको व्यक्तिलाई मन्त्री बनाउनुपर्ने सर्त राखेका थिए । जसका कारण नेकपा एसमा असन्तुष्टि बढेको थियो । अध्यक्ष माधव नेपालले मन्त्रालय हेरफेर गर्न प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई अनुरोध गरेका थिए ।
नयाँ सहमतिअनुसार नेकपा एसले प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्रीसमेत पाउने सुनिश्चित भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । ‘मन्त्रालय भागबन्डाका विषयमा हाम्रा केही असहमति थिए । गठबन्धनका शीर्ष नेताबीचको बैठकले यसलाई हल गरेको छ । चार मन्त्री र एक राज्यमन्त्री हामीले पाउने भएका छौँ,’ उनले भने, ‘यसका साथै प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्री पनि हाम्रो पार्टीले पाउने सुनिश्चित भएको छ ।’ उनले मन्त्रिरिषद् विस्तारलगत्तै प्रदेशका मुख्यमन्त्री पनि फेरबदल हुन सक्ने बताए ।
एकीकृत समाजवादीभित्र मन्त्री र मन्त्रालयको विषयलाई लिएर असन्तुष्टि बढेपछि बुधबार कुनै औपचारिक छलफल नै हुन सकेन । त्यसपछि अध्यक्ष नेपाल बिहीबार बसेको पार्टीको स्थायी कमिटीको छलफलबाट भागबन्डामा हेरफेर गर्नुपर्ने प्रस्ताव लिएर बालुवाटारमा जारी गठबन्धनको बैठकमा पुगेका थिए । त्यहाँ मन्त्रालय हेरफेरमा दलहरू सहमत भएपछि अध्यक्ष नेपाल पुनः बैठकस्थल पुगेर उक्त जानकारी गराएका थिए । तर, मन्त्रीको नाम भने टुंग्याउन सकेनन् ।,याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।