२२ असोज, काठमाडौं ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले झन्डै तीन महिनापछि आज शुक्रबार पूर्णता पाउँदैछ ।
प्रधानमन्त्री देउवा सचिवालयले जनाएअनुसार सत्तारूढ गठबन्धनसँग मन्त्री हुनेहरूको नाम मागिएको छ । नाम प्राप्त हुनासाथ आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी छ । आजै सपथसमेत हुने बताइएको छ।
यससँगै सत्तारुढ गठबन्धनका दलहरुले मन्त्री हुनेहरुको नाम टुंगो लगाएको छ । यसैबीच नेपाली राजनीतिमा पछिल्लो समय निकै चर्चामा रहेकी नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलाई ’मालदार’ मन्त्रालयको जिम्मेवारी दिन लागिएको छ ।
स्रोतका अनुसार झाँक्रीलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाइँदैछ । शुक्रबार विहान बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले सरकारमा सहभागि हुनेहरुको नाम टुंगो लगाउँदा झाँक्रीलाई स्वास्थ्यको जिम्मा दिएको हो ।
पार्टी अध्यक्ष माधवकुमार नेपाललाई नेकपा एमालेमा हुँदादेखि बलियो साथ दिएकी झाँक्रीलाई चर्चाकै कारण ‘मालदार’ मन्त्रालयको जिम्मेवारी दिन लागिएको एकीकृत समाजवादीका एक नेताले बताए ।
‘उहाँ झाँक्रीले लामो समयदेखि अध्यक्ष कमरेडलाई बलियो समर्थन गर्दै आउनु भएको छ, उहाँको पक्षमा सामान्य नेताभन्दा धेरै संख्यामा कार्यकर्ताको समर्थन रहेको पार्टीको विश्लेषण छ ।
सोहीकारण उनलाई स्वास्थ्यको जिम्मेवारी दिन लागिएको हो ।’ ती नेताले भने । तर, झाँक्रीले कोरोना महामारीमा ठुलो मन्त्रालयको जिम्मेवारी सहज तरिका बहन गर्न नसक्ने ती नेताको दावी छ ।
झाँक्री एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कट्टर आलोचकको रुपमा चिनिन्छिन् । उनले प्रखर वक्तासमेत हुन् ।
स्वास्थ्यलगायत मालदार मन्त्रालयमा सत्तारुढ गठबन्धनबीच सहमति हुन नसक्दा यसअघि पटक पटक मन्त्रीपरिषद् विस्तारमा अवरोध आएको थियो । यसअघि कांग्रेसले स्वास्थ्यमा दावी गर्दै आएको थियो ।
त्यसमा नेता गगन थापाको नाम चर्चामा रहेको थियो । तर, सत्तारुढ दलको पछिल्लो बैठकले एकीकृत समाजवादीलाई स्वास्थ्यको जिम्मा दिएको हो ।
यस्तै, एकीकृत समाजवादीबाट शहरी विकासमा विरोध खतिवडा, पर्यटनमा प्रेम आले र श्रममा किसान श्रेष्ठलाई पठाउने निर्णय भएको छ ।