२२ असोज, काठमाडौं ।
मन्त्री छान्ने विषयलाई लिएर जनता समाजवादी पार्टी (जसपा) मा विवाद देखिएको छ।
शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुँदा आफ्नो भागमा परेको ४ मन्त्री चयन गर्ने विषयमा जसपाका दुई अध्यक्षबीच विवाद देखिएको हो।
अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई कार्यकारिणी समितिको बुधबारको बैठकले पार्टीको कोटाबाट सरकारमा पठाउने मन्त्रीहरुको नाम छान्न जिम्मा दिएको थियो।
अध्यक्ष उपेन्द्र यादवले आफू पक्षधरलाई मन्त्री बनाउन खोजेपछि संघीय परिषद् अध्यक्ष भट्टराई र वरिष्ठ नेता राईले आपत्ति जनाएका छन्।
’सबै आफ्नोलाई च्याप्न खोजिएको छ र त्यसलाई मानिँदैन। जे मन लाग्छ गर्नुस्’ भन्दै भट्टराई र राईले यादवसँग असन्तुष्टि पोखेको हो ।
भट्टराई र राइले असन्तुष्टि जनाएपछि मन्त्री चयन हुन नसकेको उनले बताए।
शीर्ष नेताहरुको बिहीबारको बैठकमा जुटेको ’सैद्धान्तिक सहमति’अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन्। प्रधानमन्त्री देउवा निकट स्रोतका अनुसार शुक्रबार अपराह्न ४ बजे नवनियुक्त मन्त्रीहरुलाई शपथ गराइनेछ।
बिहीबारको सहमतिअनुसार नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित ९ मन्त्री र २ राज्यमन्त्री पाउने भएको छ। यस्तै, माओवादी केन्द्रले ५ मन्त्री तथा १ राज्यमन्त्री, एकीकृत समाजवादीले ४ मन्त्री तथा जनता समाजवादी पार्टीले ४ मन्त्री पाउने भएका छन्।