२२ भदौ, काठमाडौं ।
जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुने चार मन्त्रीको नाम तय गरेको छ । अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईले शुक्रबार बिहान मन्त्रीहरूको नाम तय गरेका हुन् ।
मन्त्री बन्नेहरुमा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, रेणू यादव, रामसहायप्रसाद यादव र प्रमोद साह रहेका छन् । अध्यक्ष उपेन्द्र यादवले उनीहरुकाे नाम प्रधानमन्त्रीलाई बुझाइसकेका छन् ।
स्रोतका अनुसार राजेन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन, रेणूले भौतिक पूर्वाधार तथा यातायात, रामसहायले वन तथा वातावरण र प्रमोदले कृषि तथा पशुपंक्षी मन्त्रालय पाउनेछन् ।
पहिले सरकारमा गइसकेकालाई पनि मन्त्रीमा पठाउने कि नयाँ पठाउने भन्नेमा मन्त्री चयनका क्रममा नेताहरूबीच सहमति जुटाउन समय लागेको एक नेताले जानकारी दिए ।