२२ असाेज, काठमाडाैँ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षा अनुसार काम गर्न नवनियुक्त सबै मन्त्रीहरुलाई निर्देशन दिएका छन् । मन्त्रीपरिषदलाई पूर्णता दिएलगत्तै शुक्रबार अपरान्ह सिंहदरवारमा बसेको मन्त्रीपरिषद बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले मुलुकको आवश्यक्ता अनुसार उत्साह र ईमान्दारिताका साथ जनताको अपेक्षा अनुसार काम गर्न नवनियुक्त मन्त्रीहरुलाई निर्देशन दिएका हुन्।
त्यस अवसरमा उनले नवनियुक्त मन्त्रीहरुको कार्यकालको पूर्ण सफलताको कामना समेत गरेकाे नवनियुक्त सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। बैठकले सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीलाई तोक्ने निर्णय गरेको छ ।
त्यसैगरी मन्त्रीपरिषद बैठकले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउने सम्बन्धि मापदण्ड २०७८ लाई स्विकृत गर्ने र मन्त्रीपरिषदका समितिहरुलाई पुनर्गठन गर्ने निर्णय पनि गरेको छ । सरकारका प्रवक्ता कार्कीले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले सबै मन्त्रीहरुलाई सफलताको शुभकामना व्यक्त गर्नु भएको छ । र मुलुकको आवश्यक्ता अनुसार उत्साह र इमान्दारिताका साथ काम गर्न जनअपेक्षा अनुसार अगाडि बढनका निमित्त सबै मन्त्रीहरुलाई निर्देशन दिनु भएको छ । र आजको मन्त्रीपरिषद बैठकले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउने सम्बन्धि मापदण्ड २०७८लाई स्विकृत गर्ने । मिति २०७८०५÷२५ मा गठित मन्त्रीपरिषद समितिहरु पुनर्गठन गर्ने । नेपाल सरकारको प्रवक्तामा माननीय सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई तोक्ने निर्णय गरिएको छ ।’
यसैबीच, सरकारका प्रवक्ता कार्कीले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमाल नेपाली काँग्रेसको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गर्नु भएको बताएका छन् । उनले नवनियुक्त मन्त्री हमाललाई प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरासँग जोडेर आएको समाचारमा कुनै सत्यता नरहेको बताए । प्रवक्ता कार्कीले हमालले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको तर्क समेत गरे।