२३ असाेज, चितवन।
भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला अलपत्र परेको बताएकी छन् । शनिबार चितवन उद्योग सङ्घको साधारण सभामा सहभागी भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई उनले रङ्गशाला निर्माणको काम अब सरकारले अघि बढाउनुपर्ने बताइन् ।
उनले भनिन्, ‘देशकै गरिमा बोकेको रङ्गशाला निर्माणका लागि महानगरले जग्गा उपलब्ध गरायो, आवश्यक सबै सहयोग गर्यो। तर स्रोत जुटाउने जिम्मा लिएका धुर्मुस-सुन्तलीले बनाउन सकेनन् ।अब रङ्गशाला निर्माणको जिम्मा सरकारले लिनुपर्ने भयो ।’
सरकारमा रहेको गठबन्धनका नेता प्रचण्डसँग उनले बहुवर्षीय योजनाअन्तर्गत रङ्गशाला निर्माणको काम अघि बढाउनु पर्ने बताइन् । क्रिकेट रङ्गशाला निर्माणका क्रममा १६ करोड रुपैयाँ ऋण लागेपछि निर्माणको जिम्मा लिएको धुर्मुस-सुन्तली फाउन्डेसन अन्योलमा छ । गत साउन १५ देखि रङ्गशाला निर्माणको काम बन्द छ ।